मुख्य खबरसमाचार

नवौं दिन २४२ जनालाई निशुल्क खाना खुवाइयो

संवाददाता

हेटौंडा \  रोटरी क्लब अफ मकवानपुर र रोट्रयाक्ट क्लब अफ मकवानपुरको सक्रियतामा पञ्चसिद्धि फाउण्डेसनका साथमा हेटौंडा बजार क्षेत्रमा नवौं दिन पनी निशुल्क खाना वितरण जारी रहेको छ ।

निषेधाज्ञाको कारणले छाक टार्न नसकेकाहरुका लागि जारी निशुल्क खाना अभियान अन्तर्गत बिहिवार हेटौंडा-४ हुप्रचौरमा  १०९ जना, हेटौंडा अस्पतालमा बिरामी कुरुवाका लागि १०१ र असहाय बिरामीहरुका लागि घरमुखी सेवाबाट ३२ जना गरी २४२ जनालाई खाना खुवाइएको छ । यसैगरी हेटौंडा अस्पतालमा उपचारारत ९५ जनालाई बिहानको नास्ता निःशुल्क प्रदान गरिएको छ ।

बिहीबारको खानाको लागि हेटौडा ४ निवासी डा. मुरारी लाल दास, रवि अग्रवाल र उद्धब चापागाईंले सहयोग गरेका थिए । यस्तै बिहीबारको हेटौंडा–४ का कृष्णहरी सुबेदीबाट ११ सय रूपैयाँ सहयोग प्राप्त भएको  रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन साँगामीले बताए ।