मुख्य खबरसमाचार

हेल्प डेक्सको दलसंग छलफल, तीन सिलिण्डर सहयोग

संवाददाता

मकवानपुर उद्योग वाणिज्य संघमा स्थापित कोभिड हेल्प डेस्क मकवानपुरले बुधबार राजनैतिक दलहरुसँग छलफल गरेको छ । हेल्प डेस्कको कामकारवाही प्रभावकारी बनाउन रायसल्लाह लिने र कोभिडको जोखिम घटाउन राजनैतिक दलहरुबाट उपयुक्त भूमिका निर्वाह गर्न आवश्यक रहेको सन्दर्भमा छलफल गरेको हो ।

छलफलमा बागमती प्रदेश सभा सदस्य समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रेमबहादुर पुलामी छिन्तु, नेपाली कांग्रेसका हेटौंडा उपमहानगरका सभापति आनन्दराम पराजुली, राप्रपा मकवानपुरका सचिव सागर थापा र डेस्कका संयोजक कृष्ण कटुवाल, सदस्यहरु भुवनलाल श्रेष्ठ, सरोज खनाल, माधव न्यौपाने, शंकरलाल श्रेष्ठ, कृष्णराज कोइराला, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

आजै डेक्सबाट तीन सिलिण्डर अक्सिजन निःशुल्क वितरण गरिएको छ । अक्सिजन सिलिण्डर हा“डिखोला एक जना र हेटौंडा १४ का दुई फरक बिरामीहरुलाई वितरण गरिएको हो । कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले बुधबार पनि संक्रमितको मनोबल बढाउन संक्रमितको घरमै गई स्वास्थ्यवर्दक च्यावनप्रास तथा मेडिकल माक्स वितरण गरिएको थियो । घरदैलो कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख तथा कोभिड हेल्प डेस्क मकवानपुरका सल्लाहकार मिना लामाको उपस्थिति रहेको थियो ।

हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ताको नेतृत्वमा गएको टोलीमा हेल्प डेस्कका सदस्यहरु बासु खतिवडा, रामकुमार एलन, पवन अग्रवाल, मउवासंघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सिनियर अहेब प्रविन पुडासैनी, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार टोप बहादुर कुमाल, हेटौंडा ८ का जनप्रतिनिधि तथा स्वास्थकर्मीहरुलगायतको घरदैलो कार्यक्रममा सहभागिता रहेको थियो ।

त्यसैगरी बुधबार ६६जना कोभिड संक्रमितहरुलाई फोन सम्पर्कमार्फतउनीहरुको अवस्था बुझ्ने कार्य गरिएको छ । सबै संक्रमितले आफू घरमै रहेको जानकारी गराउनु भएको थियो । हेल्प डेस्कका दुईजना स्वास्थ्यकर्मीबाट फोन सम्पर्कमार्फत अवस्था बुझ्ने, परामर्श दिने र समस्या पर्दा सम्पर्कमा आउन आग्रह गरिएको छ ।