
संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने सरकारको निर्णयको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विरोध जनाएका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत विरोध गर्दै उनले प्रधानमन्त्री र राष्ट्रपतिको यो कदम अधिनायकवादतर्फको यात्रा भएको भन्दै यसलाई इतिहासको कोतपर्वको संज्ञा दिएका छन् ।
महामारीमा मृत्युुसंग जुधिरहेका जनतालाई मध्यावधि निर्वाचनको घोषणा निर्मम उपहार भएको उल्लेख गर्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरसको संक्रमणबिच हुने मध्यावधि निर्वाचन महंगो पर्ने चेतावनी दिएका छन् ।
महाभारतको संक्षिप्त सार भनेकै अहंकारको विनाश भएको उल्लेख गर्दै शर्माले सांकेतिक रुपमा ओलीको अहंकार पनि अन्त्य हुने दावी गरेका छन् । साथै, उनले संविधानको सामुहिक बलात्कारको दुष्परिणाम महंगो पर्ने समेत बताएका छन् ।








