मुख्य खबरसमाचार

हेटौंडामा एक मेडिकलमा गरियो शील

संवाददाता

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको अनुगमन टोलीले हेटौंडाको एक मेडिकल पसलमा शील लगाएको छ । राप्तिरोडमा सञ्चालित सान्भी मेडिको नामक मेडिकलले औंलामा राखी अक्सिजनको मापन गर्ने अक्सिमिटरको मुल्य डबलभन्दा बढी लिएको भनी शील गरिएको सहायक प्रजिअ चिरन्जीवी शर्माले बताए । 'हामीले खरिद गरेको विलको प्रमाण सहित मेडिकल पुगी आवश्यक सोधपुछ गर्दा कालोबजारी गरेको पाइएको हो' उनले भने ।

मेडिकलका दुई जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रण लिएका छौं भन्दै शर्माले अन्य मेडिकलमा सोही सामानको खरिद मुल्य नौ सय रहेको र विक्री एघार सयमा गरेको पाइएको बताए । तर यहाँ दुइ हजार ८ सयमा विक्री गरेकोले कालोबजारी भएको देखिन्छ र शील गरीएको उनले भने ।

अनुगमनमा वडा प्रहरी कार्यालय प्रहरी निरीक्षक कृष्ण विष्ठ, उपभोक्ता हक हित मञ्चका अध्यक्ष बासु खतिवडा लगायत प्रशासन कार्यालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।