मुख्य खबरसमाचार

बागमती प्रदेश प्रहरीले प्रशिक्षणका लागि काठको डमी हतियार प्रयोग गर्ने

संवाददाता

हेटौंडा \ बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले फायरीङ बाहेकका अन्य प्रशिक्षण गतिविधिका लागि काठको डमी हतियार प्रयोग गर्ने भएको छ ।

प्रहरीको प्रशिक्षण प्रदान गर्ने ईकाईहरुबाट हाल नियमित प्रयोग गरिने ओर्जिनल हतियार प्रयोग गर्दै आईरहेकोमा उक्त हतियारहरु बिग्रने, फुट्ने, तथा बेसावुत भई काम नलाग्ने हुँदा डमि हतियार प्रयोग गर्न लागिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले बताउनुभयो ।

बागमती प्रदेश प्रहरी कार्यालयको बार्षिक कार्ययोजना अनुसार ५०० थान काठको डमी हतियार निर्माण गरी बागमती प्रदेश अन्तर्गतको प्रमुख तथा सहायक प्रशिक्षण प्रदायक ईकाईमा वितरण गरी प्रयोग गर्ने कार्यको सुरुवात गरिएको चौधरीले बताउनुभयो ।

पहिलो चरणमा हातहतियार मर्मत शाखाका प्राविधिक प्रहरी जनशक्तिहरुबाट ५० थान काठको डमी हतियार निर्माण गरि बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीलाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले हस्तान्तरण गर्नुभएको छ ।