मुख्य खबरसमाचार

सुरक्षित भई समाचार संकलन गर्न महासंघको आग्रह

संवाददाता

खबरबाकस  \ विश्व महामारीको रूपमा फैलिएको कोरोना संक्रमणको दोस्रो लहरले मकवानपुर पनि प्रभावित बनेको छ । कोरोना संक्रमण जोखिम न्युनिकरणका लागि देशका विभिन्न जिल्ला झैं मकवानपुर जिल्ला पूर्ण निषेधाज्ञा जारी भएको छ ।

कोभिडको समयमा मकवानपुरका संचारकर्मीहरूले जोखिमका बाबजुद नागरिकलाई समाचार तथा सूचना पुर्याउने काममा अहोरात्र खटिनु परेको छ । जोखिमको यस अवस्थामा आफ्नो कर्तव्य पुरा गर्न खटिनु भएका संचारकर्मीहरूलाई नेपाल पत्रकार महासंघ मकवानपुरले आफ्नो ख्याल गर्दै सुरक्षित भई काम गर्न आग्रह गरेको छ । मकवानपुरमा हालसम्म नेपाल पत्रकार महासंघका ११ जना सदस्य पत्रकार कोरोना संक्रमित भइ होम आइसोलेसनमा रहेको महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए ।

महासंघले संक्रमित पत्रकारहरूका लागि गौरीटारमा रहेको आइसोलेशनमा छुट्टै व्यवस्थाका लागि समन्वय गरेकाले होम आइसोलेसनमा बस्न समस्या भएको अवस्थामा महासंघमा सम्पर्क गर्न अनुरोध गरेको छ । महासंघले आफ्ना सदस्यहरुलाई सकभर फोन र सामाजिक सञ्जालको प्रयोग गरि दैनिक समाचार संकलनको काम गर्नु हुन, स्थलगत रूपमा समाचार संकलनमा जानु पर्दा कोरोना जोखिम न्यूनीकरणका  लागि नेपाल सरकारद्वारा जारी स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्नु हुन र स्थलगत रूपमा समाचार संकलनमा जानु पर्दा आफ्नो मिडिया, पेशागत संगठन वा महासंघले उपलब्ध गराएको प्रेस ज्याकेट लगाउनुहुन र मिडिया हाउसले उपलब्ध गराएको परिचय खुल्ने फोटोसहितको प्रेस कार्ड अनिवार्य देखिने गरी लगाउनु हुन आग्रह गरेको छ ।

त्यस्तै, जाँचमा खटिएका सुरक्षाकर्मीले रोके आफ्नो परिचय स्पष्टसंग दिनुहुन र प्रेस कार्ड देखाउनु हुन । समस्या परे पत्रकार महासंघका पदाधिकारीहरूसंग समन्वय गर्नुहुन, जाँचमा खटिनु भएका सुरक्षाकर्मीहरूसंग वादविवाद नगर्नुहुन, संचारमाध्यमले गैरपत्रकारलाई अनावश्यक ढंगबाट प्रेस ज्याकेट र कार्ड उपलब्ध नगराउनु हुन । यस्तो कार्ड बोकेको अवस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिए व्यक्ति स्वयं जिम्मेवार हुने र गैरपत्रकारले प्रेस ज्याकेट र कार्ड प्रयोग गरेको जानकारी भए पत्रकार महासंघ वा सुरक्षाकर्मीलाई जानकारी दिनुहुन अनुरोध गरेको छ ।

No description available.