
मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेका सहकारी संस्थालाई प्रविधिमैत्री बनाउन बुधबारबाट सहकारी संस्थाका व्यवस्थापकहरुलाई ३ दिने कोपोमिस तथा सहकारी संचालन सम्बन्धी अभिमुखीकरण तालिम सुरु भएको छ । गाउँपालिकामा रहेका विभिन्न उद्देश्यका ३५ वटा सहकारी संस्थाका व्यवस्थापकलाई तालिम प्रदान गरिएको गाउँपालिकाका सहकारी शाखा प्रमुख रामप्रसाद दहालले बताए ।
सहकारी संस्थाका विभिन्न शेयर सदस्य, आर्थिक कारोवार र वस्तुस्थितीलाई कोपोमिस सफ्टवेयरमा राखी कार्यसम्पादन गर्न उक्त तालिम प्रदान गरिएको दहालले बताए । सहभागीले कम्प्युटर कसरी चलाउने भन्ने जानकारी, दोहोरो सदस्य परेको जानकारी प्राप्त गर्ने, सहकारी सदस्यहरु विस्तृत विवरण प्रष्ट रुपमा हेर्ने मिल्ने गरी कोपोमिस सिस्टमको जानकारी गराइने जनाइएको छ ।
३ दिन सञ्चालित तालिममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, गाउँपालिकाका सुचना प्रविधि शाखा प्रमुख सुरज पौडेल र सहकारी विभागका लक्ष्मण राईले प्रशिक्षण दिनेछन् ।








