
सिधाखबर \ छात्रामाथि अभद्र व्यवहार गरेको अभियोगमा विद्यालयका शिक्षक किरण पाण्डे पक्राउ परेपछि मकवानपुरगढी–३ मा रहेको भानु माध्यामिक विद्यालयको पढाई अनिश्चितकालीन बन्द भएको छ ।
विद्यालयले बिहिबार सूचना जारी गरेर अनिश्चितकालका लागि विद्यालयको पठनपाठन बन्द गरेको हो । विद्यालयमा हालै विकसित भएको असहज परिस्थितिका कारण विद्यालयसंग सम्बन्धित एवं गैरसम्बन्धित पक्षहरु समेत विद्यालय प्रवेश गरी पठनपाठनमा दिनहुँ बाधा व्यवधान उत्पन्न गरेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ ।
यता, नेपाल शिक्षक महासंघ मकवानपुरगढी गाउँपालिकाले शिक्षक पाण्डे पक्राउ भएको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ र शिक्षकका विभिन्न पेशागन संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै विषयलाई अतिरन्जित बनाएर केही विद्यार्थी र अभिभावकको भिडले प्रहरीमा उजुरी दिई शिक्षक पाण्डेलाई पक्राउ गराएको जनाईएको छ ।
शिक्षकमाथि लगाईएको आरोप कपोकल्पित र दुराशयपूर्ण भएकाले शिक्षकको चरित्र हत्या गर्ने, विद्यालयको पठनपाठन विथोल्नेहरुलाई कारवाहीको माग विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै पक्राउ परेका शिक्षक पाण्डेलाई रिहा गर्न समेत माग गरिएको छ ।









