समाचारफिचर

वडाकै स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन

संवाददाता

 मकवानपुरगढी गाउँपालिकाको वडामा रहेको स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन गरिएको छ । आइतबार वडा नम्बर ५ मा रहेको आमभञ्ज्याङ स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा शुभारम्भ भएको हो ।

गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले प्रयोगशालाको रिवन काटेर उद्घाटन गरेका थिए । उद्घाटन पश्चात अध्यक्ष हुमागाईले अब प्रत्येक वडामा प्रसुती सेवा सहित प्रयोगशाला सेवाको पनि विस्तार गरिने बताउनुभयो । कृषि र पर्यटनमा गाउँपालिकाले फड्को मारिरहेको अवस्थामा अब स्वास्थ्य, शिक्षामा पनि विकास भइरहेको बताए ।

स्वास्थ्य चौकीका अध्यक्ष तथा वडा अध्यक्ष जीत बहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष राम प्रसाद तिमल्सिना, वडा ६ का अध्यक्ष टिका प्रसाद दाहाल, कार्यपालिका सदस्य मञ्जु योञ्जन, चिनी माया लुङवा, निर्मला विक, वडा सदस्यहरु,गाउँपालिकाका स्वास्थ्य संयोजक ध्रुव लामिछाने, आमभञ्ज्याङ स्वास्थ्य चौकीका प्रमुख सन्देश घिमिरे, विभिन्न वडाका स्वास्थ्य चौकी प्रमुख, राजनितिक दल,सहकारी, वन, विद्यालय, टोल विकासका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

गाउँपालिकामा पहिलो पटक वडा नम्बर ५ बाट सुरु गरिएको प्रयोगशालामा जेष्ठ सदस्य कृष्णसिद्धी लामाको सुगर परिक्षण गरी सेवा सुचारु गरीएको छ ।