
काठमाडौं \ स्थापनाको पाँच दशकपछि राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले कानुनी मान्यता पाएको छ । यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको एउटा शाखाको रुपमा काम गर्दै आएको समितिसम्बन्धी मन्त्रिपरिषदले गठन आदेश जारी गरेसँगै यसले कानुनी मान्यता प्राप्त गरेको हो । मन्त्रालयका अनुसार पौष तेस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिलाई विकास समितिको मोडलमा लैजाने निर्णय गरेको हो ।
यसअघि पञ्चाङ्ग तयार पार्ने र विभिन्न चाडपर्वको शुभ साइत निर्धारण गर्ने काम गर्दै आएको समितिले अब भने अध्ययन अनुसन्धान एवं विभिन्न सचेतनामूलक कार्यक्रम समेत गर्न पाउनेगरी गठन आदेश जारी भएको मन्त्रालयका संस्कृति शाखाप्रमुख दुर्गाप्रसाद भुर्तेलले जानकारी दिए ।
भुर्तेलका अनुसार नयाँ गठन आदेशले अध्यक्ष, सदस्यसचिव लगायतका नियुक्त हुने सबै पदको लागि योग्यता तोकिएको छ । सदस्य सचिवका लागि सम्बन्धित विषयमा स्नातक उत्तीर्ण व्यक्ति भए १५ वर्ष सोही क्षेत्रमा अध्ययन अनुसन्धानमा संलग्न भएको हुनुपर्ने र स्नातकोत्तर उत्तीर्ण भएको भए ५ वर्षको सम्बन्धित क्षेत्रको अनुभव आवश्यक पर्नेगरी न्यूनतम योग्यता तोकिएको छ ।
गठन आदेश जारी भएपछि अब मन्त्रालयले त्यसको कार्यादेश तयार पारेर गठन आदेश अनुसारकै संरचनामा यसलाई विकास गर्ने तयारी सुरु भइसकेको भुर्तेलले जानकारी दिए । सामान्यतया सौरमासको आधारमा तयार पारिने पात्रो निर्माण र विभिन्न चाडपर्वको तिथि एवं साइत निर्धारणलाई बढी महत्वदिँदै आएको समितिले अबका वर्षहरुमा भित्तेपात्रोलाई समेत व्यवस्थित गर्ने तयारी गरिरहेको छ ।
आफूखुसी भित्तेपात्रो निकाल्दा चाडपर्व र अन्य तिथिमितिमा एकरूपता आउन नसकेको भन्दै समितिले भित्तेपात्रोलाई समेत व्यवस्थित गर्ने तयारी गरेको समितिका सचिव ढुंगेल बताउँछन् ।








