मुख्य खबरसमाचार

काठमाडौंमा सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने

संवाददाता

काठमाडौं \ काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आज रातिदेखि जोर बिजोर प्रणाली लागू हुने भएको छ । बिहीबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बैठकले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी उक्त निर्णय गरेका हुन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन् । सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ ।

स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन । त्यस्तै, सार्वजनिक र सरकारी निकायमा आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्ने निर्णय गरिएको प्रजिअ उपाध्यायले बताए ।

आजैदेखि सार्वजनिक स्थलमा जाँदा खोपकार्ड अनिवार्य बोक्नुपर्ने नियम पनि लागू गरिएको छ । त्यसैगरी, जमघट हुने सवैखाले क्रियाकलपाहरु पनि बन्द गर्ने आदेश जिल्ला प्रशासनहरुले जारी गरेका छन् । जस अनुसार आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी साँझ, नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जीमखाना, रंगशाला, संग्रहालय, पुस्तकालय, चिडियाखानाहरु आजदेखि बन्द हुनेछन् ।

यस्तै, कभर्ड हल, स्वीमिङ पुल, फुटसल, जात्रा, महोत्सव, हाटबजारहरु पनि बन्द हुनेछन् । सरकारले शैक्षिक संस्थाहरु, तालिम केन्द्र, कोचिङ सेन्टर, ट्युसन सेन्टर, कलेज र विद्यालयहरु यस अघि नै बन्द गरिसकेको छ ।