मुख्य खबरसमाचार

बर्दिया–बाँके कम्प्लेक्समा बुधवारदेखि बाघ गणना सुरु हुँदै

संवाददाता

बर्दिया \ बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा भोलि बुधवारदेखि क्यामेरा ट्र्यापिङ प्रविधिबाट बाघ गणना सुरु हुने भएको छ । भोलिदेखि बर्दियाबाट बाघ गणना सुरु गरिने बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

मङ्सिर २९ गतेदेखि क्यामेरा ट्र्यापिङ प्रविधिबाट बर्दिया–बाँके कम्प्लेक्समा बाघ गणना सुरु गर्ने तयारीका साथ गणनामा खटिनेहरूका लागि दुई दिनको विशेष तालिम दिइसकिएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयाे ।

बर्दिया निकुञ्ज मुख्यालय ठाकुरद्वारामा एक औपचारिक कार्यक्रमको आयोजना गरी भाेलिदेखि बाघ गणनामा खटिने गणक टोली बर्दिया निकुञ्ज भित्र प्रवेश गर्ने उहाँले बताउनुभयो ।

हरेक चार वर्षमा बाघ गणना गर्ने गरिन्छ । राष्ट्रिय बाघ सर्वेक्षण अभियान अन्तर्गत देशैभरिका निकुञ्ज तथा आसपासका क्षेत्रमा रहेका बाघको सङ्ख्या पत्ता लगाउने उद्देश्यले देशभर तीन वटा कम्प्लेक्समा क्यामेरा ट्र्यापिङ प्रविधिबाट बाघ गणना सुरु गर्न लागिएको हो ।