
खबरबाकस \ ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि, सुशासन,विकास र समृद्धि’ भन्ने नाराका साथ आजदेखि देशभर सप्ताहव्यापी रुपमा १० औँ राष्ट्रिय कर दिवस मनाइएको छ । यसैबीच आन्तरिक राजश्व कार्यालय हेटौडाले बुधबार एक कार्यक्रमको आयोजना गर्दै कर सप्ताह समुद्घाटन समारोह आयोजना गरेको छ ।
आन्तरिक राजश्व कार्यालय हेटौडाका कर अधिकृत अवधेश कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनिराम शर्माले करबाटै देश विकाशमा सहयोग पुग्ने बताउदै कर प्रशासनले पनि नागरिकलाई कर सम्बन्धी सचेतना जगाउनु पर्ने बताए । नागरिकको कर नागरिककै लागी विकाश निर्माणमा खर्चने भएकाले बढी भन्दा बढी कर उठाउन आन्तरिक राजश्व कार्यालय हेटौडालाई आग्रह गरेका थिए ।
कार्यक्रममा यो बर्ष आयकर तर्फ सबै भन्दा धेरै कर तिर्ने हेटौडा ६ मा रहेको मार्मा वायर्स प्रालिका प्रबन्ध निर्देशक सम्राट सिंहलाई उत्कृष्ठ करदाताको रुपमा सम्मान गरीएको थियो । मार्मा वायर्स प्रालिले यो वर्ष ४८ लाख कर तिरेको छ । त्यस्तै सम्मानतर्फ उत्कृष्ठ कर्मचारी सम्मान आन्तरिक राजश्व कार्यलय हेटौडाका नायव सुब्बा सागर पन्थीलाई नगद ५ हजार सहित सम्मान गरीएको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम,उद्योग संघ हेटौडाका अध्यक्ष लेखराज पोखरेल लगाएतका संघ संस्था व्यवसायीहरुको सहभागिता रहेको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तरगत बुधबार कर सप्ताह उद्घाटन तथा पहिलो सेवाग्राही सम्मान कार्यक्रम, विहीबार २ गते घुम्ती करदाता शिक्षा कार्यक्रम, ३ गते कुखुरा व्यवसायी संग कर शिक्षा कार्यक्रम, ५ गते मनहरी क्षेत्रमा करदाता शिक्षा कार्यक्रम, ६ गते विहान पदमपोखरीमा र दिउँसो राजस्व कार्यालयमा सञ्चारगृहलाई कर शिक्षा कार्यक्रम र ७ गते रक्तदान कार्यक्रम गरिने कर अधिकृत सुमन बुढाथोकीले जनाइएको छ ।








