मुख्य खबरसमाचार

कुकुर पुज्ने दिन, प्रतिभा पस्कँदै प्रहरीका तालिमप्राप्त कुकुर

मानवी बानियाँ

हेटौंडा \ कुकुर, मानिसप्रेमी जनावर हो । त्यसैले घरको सदस्यसरह मानेर कुकुरलाई घरमा पालिने गरेको छ । कुकुरलाई बफादारीको प्रतीक पनि मानिन्छ । मानिसका बिभिन्न क्रियाकलापमा लामो समयबाट कुकुर भरपर्दो सहयोगीको रुपमा रहँदै आएको छ ।

नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा कुकुरको प्रयोग गरेको ५ दशक नाघिसकेको छ । २०२६ सालमा नेपाल प्रहरीले पहिलो पटक विदेशबाट ४ वटा कुकुर नेपाल भित्र्याएको थियो । अपराध अनुसन्धानमा कुकुरको प्रयोग व्यवस्थित गर्न थालिएको २०३२ सालदेखि हो ।

पछिल्लो समय भएका आपराधिक गतिविधिमा अनुसन्धानका लागि कुकुरको माग बढी हुँदै गएको छ । र, कुकुरको प्रयोगबाट गरिएको अनुसन्धान सफलसमेत भएका छन् । हाल नेपाल प्रहरीमा अपराध अनुसन्धान, विमानस्थल सुरक्षा, विशिष्ट व्यक्तिको सुरक्षालगायत क्षेत्रमा कुकुरको प्रयोग हुँदै आएको छ । कुकुरले प्रहरीनजिकको साथी बनेर यी कार्यहरुमा सघाउँदै आएको छ ।

सोहीअनुरुप बागमती प्रहरी प्रदेश कार्यालय केनाइन शाखामा २०६९ बैशाख १८ गते ३ वटा कुकुर ल्याएर सेवा सुरु गरिएको थियो । शाखामा हाल विभिन्न विधाका ६ वटा तालिमप्राप्त कुकुर छन् । कुकुरको व्यवस्थित परिचालन, रेखदेख, तालिम र बासस्थानको उचित व्यवस्थापनका लागि प्रहरी नायव निरीक्षकको कमाण्डमा ९ प्रहरी परिचालित छन् । केनाइन शाखाका प्रहरी नायव निरीक्षक कुमार मगरका अनुसार ६ बजेबाट दैनिक ४५ मिनेट कुकुरलाई पीटी, परेड खेलाउने, सरसफाइ र गुम्रिङ गराउने गरिएको छ ।

शाखामा कुकुरलाई विषयगत्रुपमा छुट्टै प्रकारका तालिम दिनुका साथै अभ्यास गराइँदै आएको छ । ३ महिनाको आधारभुत तालिम दिएपछि कुकुरको क्षमताअनुसार विधा छुट्याएर अनुसन्धानमा लगाउने गरिन्छ । चिन्नका लागि प्रत्येक कुकुरको नाम राखिएको हुन्छ । ती कुकुरको जिम्मेवारीअनुसार छुट्टै प्रहरी राखिएका छन् ।

यसले गर्दा एक प्रहरीको भागमा एक कुकुर पर्दछ । कुकुरलाई खानाका लागि विशेषतः डगकोरको व्यवस्था गरिएको हुन्छ । हाल कार्यालयमा हत्या, अपराध, अपहरणजस्ता घटना अनुसन्धानका लागि प्रयोग गरिने ट्रयाकर डग, बम र बरुदलगायत विस्फोटक पदार्थ पत्ता लगाउने एक्स्प्लोसिभ डग र गाँजा\चरेसजस्ता लागुऔषध पत्ता लगाउने ड्रगस् एण्ड सर्स डगसहित ३ विधाका २-२ वटा गरी ६ वटा कुकुर छन् ।
May be an image of 5 people, people standing, dog and outdoors

ज्याक र रक्की
ज्याक र रक्की जर्मन सेफर्ड प्रजातिका दुवै भाले कुकुर ट्रयाकर डग हुन् । जसमध्ये ज्याक ८ वर्षको छ भने रक्कीको उमेर १ वर्षमात्र छ । रक्की भर्खर आफ्नो तालिम सम्पन्न गरी कार्यसम्पादनका लागि योग्य भएको कुकुर हो । चितवनकी सुजिता भण्डारी मृत्यु प्रकारणलगायत दर्जनांै घटना अनुसन्धानमा प्रहरीको सहयोगी भएर कुकुरहरुले काम गरिरहेका छन् ।

टाइगर र ब्रुनी
जर्मन सेफर्ड नश्लका यी दुई कुकुर 'एक्स्प्लोसिभ डग’ हुन् । ५ वर्षको टाइगर भाले प्रजातिको कुकुर हो भने १ वर्षे ब्रुनी पोथी प्रजातिको हो । ब्रुनी पनि भर्खर आफ्नो तालिम सम्पन्न गरी कार्यसम्पादनका लागि योग्य भएको कुकुर हो । बागमती प्रदेशमा विशिष्ट तथा अतिविशिष्ट व्यक्तिको आगमन हुँदा तथा प्रदेशसभा चलेको समयमा सुरक्षार्थ यी कुकुरको प्रयोग हुँदै आएका छन् । दीपावलीको समयमा हुनसक्ने पटाका तथा अन्य विस्फोटक पदार्थ ओसारपसार र रोकथाम गर्ने उद्देश्यसाथ बागमती प्रदेशका बिभिन्न स्थानमा रहेका अस्थायी तथा स्थायी चेकपोष्टहरुमा समेत यी कुकुर परिचालित हुँदै आएका छन् ।

शेरे र जोन
शेरे बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखामा रहेको एकमात्र ल्याब्रोडर प्रजातिको कुकुर हो भने जोन जर्मन सेफर्ड प्रजातिको कुकुर हो । भाले प्रजातिका यी दुई कुकुरमा शेरे ३ वर्षको छ भने जोन ५ वर्षको छ । यी दुवै कुकुर ड्रग्स एण्ड सर्च डग’ हुन् । गाँजा/चरेसजस्ता लागुऔषध ओसारपसार नियन्त्रणमा प्रहरीलाई सहयोग गर्नु यिनीहरुको मुख्य कार्य हो । बिभिन्न समयमा हुन लागेका लागुऔषध तस्करीका घटना पत्ता लगाएर यसको नियन्त्रणमा यी कुकुरहरुले प्रहरीलाई सहयोग गर्दै आएका छन् ।

कुकुरमा अन्य प्राणीमा भन्दा बढी सुँघ्ने क्षमता हुने गर्दछ । सुँघ्ने क्षमताकै आधारमा कुकुरले अपराधी पत्ता लगाएर प्रहरीलाई अपराध अनुसन्धान तथा नियन्त्रणमा सहयोग पु¥याउँदै आएको छ । प्रत्येक मान्छेमा हुने फरकफरक गन्धका कारण कुकुर अपराधीसम्म पुग्न सफल हुने गर्दछ । कार्तिक कृष्ण चतुर्दशीका दिन आज नेपाली समाजमा कुकुरतिहार मनाएर कुकुरलाई यमराजको दुत र मानिसको बफादार सहयोगी मानी पूजासमेत गर्ने गरिन्छ । त्यसबाहेक विभिन्न उत्सवमा पनि प्रहरीका तालिमप्राप्त कुकुरले विभिन्न कलाबाजी देखाउँदै आएका छन्