मुख्य खबरसमाचार

बागमती प्रदेशको एग्रिगेटर सूचना बैक उद्घाटन

संवाददाता

 खबरबाकस \ करीव दुई वर्षको गृहकार्यपछि सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा ल्याएको छ । प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम अहिले बागमती प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट पाउन सक्ने बनाइएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच आन्तरिक मामिला तथा कानुन मन्त्री अजयक्रान्ती शाक्यले सुचना बैंकको उद्घाटन गरेका थिए । कार्यक्रममा मन्त्रालयका सचिव मदन भुजेल, सञ्चार रजिष्ट्रार रेवती सापकोटा लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

‘बागमती प्रदेशका सबै कार्यालय र स्थानीय तहलाई यो सूचना बैंकमा लिंक गर्दा यो बागमती प्रदेशको सूचना बैंकले पूर्णता पाउनेछ । यसरी नै बाँकी ६ वटा प्रदेशले पनि आ आफनो प्रदेशको सूचना बैंक बनाइदिएमा संघीय सरकारले सात वटै प्रदेशका सूचना बैंकलाई लिंक गरी नेपालको सूचना बैक बनाउन सकिने जनाइएको छ ।

सूचनाका उपभोक्ताले सूचना प्राप्त गर्न सम्बन्धित कार्यालयको वेवसाइट सर्च गर्नु पर्दैन, सूचना बैंकको पोर्टलमा जाँदा ती १४ वटै कार्यालयका वेवसाइटमा राखिएका सूचना पाउन सक्ने गरी बनाइएको छ । अहिले समेटिएका १४ वटै कार्यालयका सूचना वा दस्तावेजहरु सूचना बैंकको पोर्टलबाट नै डाउनलोड गर्न समेत सकिने रजिष्ट्रार सापकोटाले बताए । नेपालमा पहिलो पटक सूचना बैंक बनेको छ । सुशासन र पारदर्शीताका लागि सूचना महत्वपूर्ण हुनेछ ।

नेपालको संविधानले प्रत्याभुत गरेको बिचार र अभिव्यक्तिको स्वतन्त्रता, सञ्चार एवं सूचनाको हक संरक्षण र सम्बर्धन गर्दै; प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ को दफा ५५ बमोजिम यो सूचना बैंक बनेको सापकोटाले बताए । प्रदेश सूचनाको हक सम्बन्धी ऐन, २०७६ को दफा ३, ४ र ५ बमोजिम प्रदेश सरकारले सरकारी तथा सार्वजनिक निकायबाट प्रकाशित नागरिकसँग सरोकार राख्ने र सार्वजनिक महत्वको सूचनाहरु संकलन, भण्डारण र वितरण गर्न सूचना बैंक उपयोगी हुने भएकोले सञ्चार रजिष्ट्रारको कार्यालयले सूचना बैंकको स्थापना गरेको हो ।