समाचारफिचर

मकवानपुरमा यो वर्ष डेढ गुणाले खसी बोकाको व्यापार बढ्ने

मानवी बानियाँ

हेटौंडा \ जिल्लामा गत वर्ष दशैंको तुलनामा यस वर्ष खसीबोका तथा राँगाको व्यापार डेढ गुणा बढ्ने अनुमान गरिएको छ । गत वर्ष कोरोना महामारीका कारण प्रशासनले बिभिन्न नीतिनियम कायम गर्दा खसीबोकाको व्यापारमा कमी आएको थियो ।

तर, यस वर्ष भने विदेशबाट पनि मानिस आउने र आफन्तजनको आवतजावत बढी देखिएकाले गत वर्षको तुलनामा व्यापार बढ्ने माछामासु व्यवसायी संघ मकवानपुरले जनाएको छ । वर्षेनी जिल्लाको उत्पादन ८० प्रतिशत् यहीँ खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्ला लैजाने योजनासमेत रहेको छ ।

यस वर्ष खाद्य संस्थानले दशैंमा १ हजार वटा खसीबोका काठमाडौं ढुवानी गर्ने लक्ष्य राखेको छ । हाल बजारमा खसीको मासु एक हजार रुपियाँ, राँगाको ४ सय ४०, भैंसीको ४ सय, बाख्राको ७ सय, पाठीको ८ सय प्रतिकेजी मूल्य छ । यस वर्ष व्यवसायीले मूल्यवृद्धि नगर्ने संघले जनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाको तथ्यांकअनुसार जिल्लामा मुख्य चाडपर्वको समयमा दैनिक २ सयको हाराहारी खसीबोका खपत हुने अनुमान छ । कार्यालयका पशु विकास अधिकृत सुशील केसीका अनुसार दशैंका १५ दिनको भैंसी-राँगा दैनिक १ सय ६० वटा खपत हुने उनले जानकारी गराए ।

अन्य समय भैंसी-राँगा ७०-८० वटासम्म र खसीबाख्रा ७० वटासम्म दैनिक खपत हुने गरेको थियो । जिल्लामा १ सयभन्दा बढी व्यावसायिक बाख्राफर्म छ । ती फर्ममा ३ लाख खसीबोका र बाख्रा रहेको केसीको भनाइ रहेको छ । ठूलो संख्यामा खसीबोका जिल्लामा उत्पादन भए पनि यहाँ छिमेकी जिल्लाबाट समेत खसीबोका आउने गरेको उनको भनाइ छ । उनले भने–८० प्रतिशत् यहींको उत्पादन र बाँकी बाहिरबाट खसीबोका आउने गर्दछ । त्यसो त, यहाँ उत्पादन भएका खसीबोका विभिन्न जिल्ला पुग्ने गर्दछन् ।

जिल्लामा वार्षिक १ हजार ७ सय ३९ मेट्रिक टन खसीबोकाको मासु उत्पादन हुने तथ्यांक छ । अघिल्लो वर्ष कोभिडका कारण कम खपत भएको थियो । भैंसी-राँगाको भने ४ हजार ८७ मेट्रिक टन, बंगुर १ सय ९६, कुखुरा-हाँस ७ हजार ९ सय ७२ मेट्रिक टन खपत हुने विज्ञकेन्द्र हेटौंडाको तथ्यांक छ । दशैंतिहारको समयमा पसलमा भन्दा बढी घरघरमा खसीबोका काटिने गरिन्छ । यस समयमा पसलमा मात्र दैनिक २ सय भन्दा बढी खसीबोका खपत हुने व्यवसायीले बताएका छन् ।

माछामासु व्यवसायी संघ मकवानपुरका महासचिव नारायण राजथलाका अनुसार घटस्थापनादेखि पूर्णिमाको अवधिमा धेरै कारोबार हुने अपेक्षा गरिएको छ । गत वर्ष निकै घाटा भएको थियो । तर, यसपालि व्यापार बढ्ने उनले बताए । कोभिड महामारी केही खुकुलो भएका कारण यस वर्ष व्यापार बढ्नेमा उनी हर्षित छन् । पसलमा ल्याइने खसीबोका छिमेकी जिल्लाका पनि हुने गर्दछन् । उनका अनुसार चितवन, सिन्धुली, सर्लाही, बारा, पर्सालगायत जिल्लाबाट पनि यहाँ खसीबोका ल्याइने गर्दछन् ।

पछिल्ला वर्षमा जिल्लाका ग्रामीण क्षेत्रमा व्यावसायिकरुपमा बाख्रापालन थालिएको छ । ग्रामीण क्षेत्रमा सहकारीमार्फत् खसीबोका उत्पादन र बजारीकरण गरिँदै आएको छ । मुख्यरुपमा पहाडी क्षेत्रमा व्यावसायिक खसीबोका उत्पादन गरिँदै आएको छ । जिल्लाको जितपुर भञ्याङ र चित्लाङमा बढी खसीबाख्रा उत्पादन हुने गरेको संघले जनाएको छ ।

पहिले भारतबाट खसीबोका ल्याइने गरे पनि पछिल्लो समय स्वदेशी उत्पादनले नै माग धान्दै आएको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार पछिल्लो एक वर्षयता भारतबाट खसीबोका आउन छाडेका छन् । उनले भने–माग धेरै छ । हामीले धान्ने अवस्थामा छौ । बाहिरबाट खसीबोका ल्याउँदा विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले पछिल्लो समय खसीबोका आयात भएको देखिँदैन । सरकारले पशुपालनमा अनुदानसमेत दिँदै आएको भन्दै उनले स्वदेशमै आत्मनिर्भर हुने गरेको उत्पादनमा जोड दिइँदै आएको बताए ।