मुख्य खबरसमाचार

इतिहासमा पहिलोपटक ‘बजेट होलिडे’

संवाददाता

काठमाडौं \  प्रतिनिधिसभाले बजेटको प्रतिस्थापन विधेयक टुंगो लगाउन नसकेपछि बुधबारबाट सरकारी खर्च बन्द हुने भएको छ । अब सरकारले कर मात्र उठाउन सक्छ खर्च गर्न सक्दैन । यसअघि ल्याएको बजेट अध्यादेश संसद् चलेको अवस्थामा ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गर्नुपर्ने प्रावधान छ । ६० दिनको समय बुधबार सकिँदैछ । प्रतिनिधिसभा अवरोधपछि मंगलबार विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित गरेर बैठक असोज ४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

१५ जेठमा अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद् स्थगित भएको हो । प्रतिस्थापन विधेयक ३० भदौसम्म पारित गर्नुपर्नेमा नभएपछि अब स्वतः निष्क्रिय हुने भएको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा पाँच-सात दिन सरकारी खर्च रोकिन सक्ने बताउनुभयो । प्रतिस्थापन विधेयक मंगलबार रातिसम्म पारित हुँदा खर्च गर्न उत्पन्न हुने समस्याको विषयमा सोधिएको प्रश्नमा सरकारी खर्च पाँच-सात दिन रोकिँदा फरक नपर्ने उहाँले बताउनुभयो ।