मुख्य खबरसमाचार

एमालेले औकात अनुसारको काम गर्‍यो : रामकुमारी झाँक्री

संवाददाता

काठमाडौं \ नेकपा एकीकृत समाजवादीकी सांसद रामकुमारी झाँक्रीले प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो औकात अनुसारको व्यवहार बुधबारको संसदमा देखाएको टिप्पणी गरेकी छन् ।

प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले एमालेले बुधबार संसदमा देखाएको व्यवहार स्तरहीन भएको बताइन् । एमालेले सांसद झाँक्रीसहित १४ जना सांसदलाई गैरसांसदको संज्ञा दिएको छ । एमालेले ‘गैरसांसदलाई संसदमा राख्न पाइँदैन’ भन्दै संसदमा नारा नै लगाएको थियो ।

यसप्रति टिप्पणी गर्दै सांसद झाँक्रीले भनिन्, ‘संसदका हत्यारा र त्यसका मतियारहरुले संसद बचाउनको लागि निरन्तर लड्नेहरुलाई यो आरोप लगाउनु आफैंमा हास्यास्पद छ । र, यो स्तरहीन प्रदर्शन, स्तरहीन चरित्रकामाथि खासै प्रतिक्रिया दिन मन छैन ।’

‘तर, तपाईंहरुलाई ननिकालेकै कारण एमालेले बैठक अवरुद्ध गर्‍यो नि ?’ भन्ने पत्रकारहरुको प्रश्नमा उनले थपिन्, ‘उहाँहरुको औकात अनुसारको काम गर्नुभएको छ ।’