
काठमाण्डाै \ नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदै छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु हुने भएको हो।
वडाबाटै आफ्नो प्रतिनिधित्व निर्वाचित गर्न केन्द्रीय नेताहरु जिल्ला-जिल्ला पुगेका छन् । वडा तहबाट छानिने प्रतिनिधिले महाधिवेशनको नतिजामा प्रभाव पार्ने भएकाले नेताहरु तल्लो तहसम्मै सक्रिय भएका हुन् ।
सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरक-फरक हुने भएको छ । एकैदिन वडा अधिवेशन गर्ने कार्यतालिका भए पनि काठमाण्डौसहित दुई दर्जनभन्दा धेरै जिल्लामा आज अधिवेशन नहुने भएको छ । २१ जिल्लामा सदस्यता विवाद अझै टुङ्गिसकेको छैन । भदौ २७ मा गाउँ/नगर सभा हुने भएकाले त्यसअघि नै वडा अधिवेशन सम्पन्न भइसक्नुपर्ने हुन्छ ।








