
सप्तरी \ अभिभावकले ध्यान दिएर हौसला दिए छोरीले पनि केही गर्न सक्छिन् भन्ने ज्वलन्त उदाहरण बनेकी छन् सप्तरीकी जेवा खातुन । सानै उमेरमा विवाह गरेर घरजम बसाउने मुस्लिम समुदायकी खातुन चिकित्सा क्षेत्रमा प्रवेश गर्नुभएको छ ।
पिछडिएको वर्गका रूपमा रहेको मुस्लिम समुदायका महिला अन्य महिलाभन्दा धेरै पछाडि छन् । अभिभावकले पढाइभन्दा सानै उमेरमा विवाह गरिदिने भएका कारण उनीहरु अगाडि बढ्न सक्दैनन् । तर अभिभावकले सहयोग गरेमा यो समुदायका महिलाले पनि केही गर्न सक्ने प्रमाण बन्नुभएको छ खातुन । उहाँले हालै एमबीबीएस उत्तीर्ण गर्नुभएको छ । जिल्लाको खड्क नगरपालिका–८ कल्याणपुर निवासी फिरोज खान र यास्मिन सुल्तानको पहिलो सन्तानका रूपमा जन्मिनुभएकी खातुनले ललितपुरको लगनखेलमा रहेकाे पाटन अस्पतालबाट एमबीबीएस उत्तीर्ण गर्नुभएको हाे ।
इन्टर्नसिप सकाएपछि पहिलो सेवा जिल्लामै दिने उहाँले सोच बनाउनुभएको छ । “जिल्लामै आएर स्वास्थ्य सेवा दिने र छोरीलाई पनि पढाउनुपर्ने चेतना जगाउने काम गर्छु”, उहाँले भन्नुभयो । एमबीबीएस उत्तीर्ण गरेर काम गर्दै एमडीसम्म पढ्ने लक्ष्य उहाँले राख्नुभएको छ ।








