
खबरबाकस \ हेटौंडा ११ नवलपुरमा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा ४ महिला सहित ३५ जनाले रक्तदान गरेका थिए ।
वडा अध्यक्ष गोकर्ण प्रसाद पराजुलीको प्रमुख अतिथ्यतामा रहेको कार्यक्रममा रक्त सञ्चार केन्द्रका विष्णु रिमाल, वडा सदस्य जुना दाहाल, रेडक्रस सोसाइटी वडा ११ का अध्यक्ष सुमित्रा काफ्ले, सचिव देवकुमार श्रेष्ठ, सहकारीका कार्यक्रम अधिकृत शर्मिला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

सामाजिक उत्तरदायित्व अनुरुप सहकारीले रक्तदान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष आशा अर्याल अधिकारीले बताइन् । उनकै अध्यक्षतामा भएको कार्यक्रममा विहान रक्तदान भएको थियो भने दिउँसो शुभकामना आदानप्रदान गरि स्थापना दिवस मनाइएको छ ।
२०६५ सालमा स्थापना भएको सहकारीमा हाल २९९९ जना शेयर सदस्य रहेको छ भने २० करोडको कारोबार गर्दै शेयर सदस्यलाई ३० लाख सम्म ऋण लगानी गर्दै आइरहेको संस्थाका कार्यक्रम अधिकृत शर्मिला श्रेष्ठले बताइन् । उक्त सहकारी संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको ३४ औं स्थापना दिवसको अवसरमा देशकै उत्कृष्ट महिला सहकारी घोषित भई सम्मानित हुन लागेको छ ।









