मुख्य खबरसमाचार

अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार हुन्छः प्रधानमन्त्री

संवाददाता
काठमाडौं \  प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेको नेपालीको उद्धार गर्न आवश्यक निर्देशन दिइसकेको बताउनुभएको छ ।

देउवाले सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएकाले अत्यावश्यक उद्धार प्रबन्ध मिलाउन आइतबारै निर्देशन दिएको बताउनुभएको हो । ‘सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सजगता र गम्भीरतापूर्वक अभिभावकको जिम्मेवारी निर्वाह गर्छ’, देउवाले भन्नुभएको छ ।

आज सामाजिक सञ्जालमा लेख्दै देउवाले अफगानिस्तानमा नेपालीको अवस्था र स्थितिको तथ्य लिने काम भइरहेको बताउनुभयो ।

‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु’, प्रधानमन्त्री देउवाले लेख्नुभएको छ ।