
दाङ \ व्यवसायी नीलहर रजौरेले आफूलाई आवश्यक परेको कर्जाका लागि एनआइसी एसिया बैंक घोराही शाखामा पुगेर प्रस्ताव गर्नुभयो । बैंकले प्रक्रिया पुर्याएर उहाँलाई लगानी ग¥यो । कर्जा लिँदाको सम्झौता अनुसार नियमित रूपमा किस्ता र व्याज बैंकलाई केही समय तिर्दै पनि आउनुभयो । तर, बीचमा कोरोना महामारी सुरु भएपछि किस्ता र व्याज नियमित हुन सकेन । कोरोनाकै कारण तीन महिना ढिला भयो । बैंकले कोरोनाबीचमा बारम्बार व्याज र किस्ता तिर्न ताकेता गरिरहृयो । तर कारोबार, व्यापार, व्यवसाय बन्द भएपछि कोरोनाका कारण व्याज र किस्ता हाल्न ढिला भयो । तर त्यहिँ बीचमा बैंकले सम्झौता गरेभन्दा तीन प्रतिशत बढी व्याजदर तोकेर हिसाब सुरु गर्यो । आर्थिक वर्ष ०७७/७८ असार मसान्तमा बढाइएको व्याजदरमा रहेर तिर्न ताकेता गरियो तर सम्झौताभन्दा बढी रकम नतिर्ने भन्दै अहिले उहाँले विरोध गरिरहनुभएको छ ।
‘एकाएक सहमतिविना व्याजदर बढाइएछ, बढाएको व्याज कसरी हामीले तिर्नु ? यो बैंक जनतालाई दुःख दिने बैंक रहेछ’, उहाँले भन्नुभयोे, ‘हामीलाई त ठगिरहेको छ, अरू नठगिउन । कर्जा लिँदा एउटा सहमति गर्ने, कर्जा लिइसकेपछि लुटने प्रवृत्ति एनआइसी एसियामा देखियो ।’
तुलसीपुरका शिव पुरी एनआइसी एसिया बैंक घोराही शाखाको सेवाग्राही हुनुहुन्छ । उहाँले आफूलाई व्यवसाय सञ्चालनका लागि आवश्यक कर्जा घोराही शाखाबाट लिनुभएको छ । केही समय सहजरूपमा बैंकसँग सम्झौता अनुसारको कारोबार भइरहेको थियो । तर केही समयपछि बैंकले व्याजदरमा सम्झौता बेगरको दर कायम गरेर असुली गर्न थाल्यो । उहाँसँग बैंकले ९ दशमलव ९१ प्रतिशतमा सम्झौता गरेर तोकिएको व्याजदर एकाएक १२ दशमलव ६१ प्रतिशत पुर्याएपछि झस्कनुभयो ।
उहाँले शाखा प्रबन्धक, क्षेत्रीय प्रबन्धकलाई यसको कारण खोज्नुभयो तर चित्तबुझ्दो जवाफ आएन । उल्टै मानसिक तनाव दिन थालियो । उहाँले भन्नुभयो, ‘हामीसँगको सम्झौताभन्दा बाहिर गएर तिर्न सकिँदैन, बरू विकल्प खोज्नुपर्ने अवस्था आउनसक्छ ।’ जुन सम्झौतामा काम भएको हो त्यहीँ अनुसारमात्रै व्याज र किस्ता तिर्न सकिने पुरीले बताउनुभयोे ।
कोरोनाको पीडा छँदैछ, त्यसमा बैंकले थप पीडा थप्यो यो महामारीमा व्याजदर बढाएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘जनतालाई खुलेआम ठग्न पाइँदैन ।’ लकडाउनकै अवधिमा गतवर्षको कोरोना कहरका बीचमै बैंकबाट लिएको कर्जा र किस्ता तिर्न दैनिक ताकेता गरेपछि तुलसीपुरका व्यवसायी विजय आचार्यले बैंक नै परिवर्तन गर्नुभयोे । ‘एनआइसी एसिया बैंक तुलसीपुर शाखासँग कारोबार थियो, आठ प्रतिशत व्याजमा भएको सम्झौता १३ प्रतिशत पुर्याएपछि मैले ठगिएको महसुस गरेर कारोबार अर्काेमा सारे’, उहाँले भन्नुभयो ।
घोराहीका एक निर्माण व्यवसायीले लकडाउन र कोरोना कहरमा बैंकको तनाव भोग्नुभयो । दिनमा दुई पटकसम्म व्याज र किस्ताका लागि फोन गर्नुभयो । केही सहज भएपछि एकाएक तीन प्रतिशत व्याज बढाएर तिर्न दबाब दिइयो ।
एनआइसी एसिया बैंकले पछिल्लो समय सेवाग्राहीसँगको सम्झौताभन्दा लिनुपर्नेमा बढी व्याजदर लिने गरेको र बैंकले दिनुपर्नेमा कम व्याज दिने गरेको गुनासो बढेको छ । बैंकले लिँदा १३ प्रतिशतसम्म र दिँदा २ प्रतिशत दिने गरेको पाइएको छ । राष्ट्र बैंकले तोकेको भन्दा बढी व्याजदर लिने गरेको सेवाग्राहीहरूबाट गुनासो छ ।
पछिल्लो समय जिल्लामा ४० भन्दा बढी व्यवसायीले एनआइसी एसिया बैंकले सम्झौताभन्दा तीन प्रतिशतसम्म व्याजदर बढाएर लिएको गुनासो गरेका छन् । नीति मिचेर सेवाग्राही ठग्ने बैंकलाई राज्यले नियमन गर्नुपर्ने र कारबाही गर्नुपर्ने माग सेवाग्राहीले गरेका छन् ।
एनआइसी एसिया बैंक घोराही शाखाका क्षेत्रीय प्रबन्धक मिलन कोइराला भने तोकिएकै अनुसार व्याजदर लिएको दाबी गर्नुहुन्छ । तोकिएको समयमा किस्ता व्याज नतिर्ने र कर्जा लिने सेवाग्राहीको अटोमेटिक व्याजदर बढ्ने उहाँको भनाइ छ । उहाँले यो विषयमा शाखाले समन्वयमात्रै गर्ने र निर्णय गर्न नसक्ने बताउनुभयो । कोइरालाले सेवाग्राहीलाई जानकारी नदिएर व्याजदर नबढाइएको जिकिर छ । उहाँले समयमा किस्ता र व्याज नबुझाउनेहरूमा बैंकले एक/दुई प्रतिशत बढाउन सक्ने नीति रहेको बताउनुभयो । तीन–तीन महिनामा नीति परिवर्तन हुने बताउनुभयो । त्यहीँ बेस रेटमा रहेर कारोबार हुने हो । उहाँले समयमा किस्ता नहाल्नेहरूलाई पेनाल्टीस्वरूप व्याजदर बढाइएको बताउनुभयो । किस्ता नतिरे जरिवाना बढ्ने हो व्याज होइन भन्ने प्रश्नमा उहाँले बैंकको सिस्टममा जरिवाना नभएर व्याज बढाउने भएको बताउनुभयो । उहाँले निवेदनसहित उजुरी दिएमा व्याजदर सम्झौता अनुसार हुने तर्कसमेत गर्नुभयो ।-हिमालय टाइम्स दैनिकमा प्रकाशित समाचार साभार








