
हेटौंडा \ कोरोनाका कारण जारी रहेको निषेधाज्ञा कारण हेटौडा उपमहानगरपालिका उपमहानगरपालिका वडा नं ९ स्थित धापमा रहेको मानवसेवा आश्रममा खाद्यान्नको अभाव हुन थालेको छ ।
कोरोना कारणले हेटौडामा विगत तिन महिनादेखि निषेधाज्ञा जारी छ जसले गर्दा आश्रममा रहेका आश्रितहरुलाई विहान बेलुका खान समस्या हुन लागेको हो । आश्रममा अन्यबेला जन्मदिन, विवाह वर्षगाँठ , स्वर्गीय पितृहरुको सम्झनामा सेवाग्राहीहरुले भोजनसेवा गराउदै आईरहेका थिए । कारोना कहरले आउन बन्द भएपछि आश्रमलाई निकै ठुलो समस्या परेको हो ।
२५० जना रहेको मानवसेवा आश्रममा अब २ दिन सम्मलाई मात्रै पुग्ने खाद्यान्न रहेको अभियान्ता होमनाथ पौडेलले जानकारी दिए । दिनमा कम्तिमा २५ हजार बराबरको खाद्यान्नमा खर्च हुने गर्छ । आश्रममा खाद्यान्न सकिएको हुनाले समस्या परेको उनले बताए ।
अभियान्ता पौडेलले आश्रममा खाद्यान्नको आवश्यकता परेको हुदाँ सहयोगी दाताहरुका लागि सहयोग गर्न अपिल समेत गरेको छन् ।सडकमा आउने मानव अधिकांश मनोरोगी हुन । कतिपय मानव अन्तिम अवस्थामा हातखुट्टा , कान कुहिएर, अनुहारसमेत हेर्न नसकिने मानव सडकमा भेटिन्छन ।
नेपालभरका सडकमा मानसिक सन्तुलन गुमाएका, वृद्ध वा शारीरिकरुपमा अशक्त भएर वा कुनै रोग उपचार गर्न नसकेर माग्ने र सडकमै खाने/बस्ने अलपत्र अबस्थाका रहेको उनै मानिसलाई स्याहार गर्ने एक सामाजिक परोपकारी संस्था हो–मानवसेवा आश्रम । आश्रमले त्यस्ता व्यक्तिको उद्धार गरेर आश्रममा ल्याएर औषधि उपचार गर्ने, परिवार खोजेर सकेसम्म पारिवारिक पुनर्मिलन गराउने, परिवार नभेटिए आश्रममै सहारा बनेर विशुद्ध सेवा गर्ने गर्दै आइरहेको छ ।
असहाय, अशक्तको उद्धार गरी उपचार र पालनपोषण गर्न हेटौंडामा मानवसेवा आश्रम सुरु भएको थियो । सडकमा अलपत्र परेका असहायको उद्धार गरी आश्रममा संरक्षण गर्ने तथा परिवार भए पारिवारिक पुनर्मिलन गराउने काम गर्दै आएको आश्रमले अलपत्र अवस्थामा भेटिएका बालबालिकादेखि वृद्धको संरक्षण गरेको छ । उनीहरुले त संरक्षण पाउनुपर्ने सोचसाथ २०६९ भदौ १३ गते औपचारिकरुपमा हेटौंडामा आश्रम स्थापना गरिएको हो ।








