
खबरबाकस \ मकवानपुरमा पहिलो पटक मोवाइल खरिदमा किस्तावन्दी सेवा सुरु भएको छ । हेटौंडा मेनरोडमा रहेको सिलिकन नेपाल प्रा.लिले जिल्लामै पहिलो पटक किस्ताबन्दीमा मोबाइल फोन खरिद सेवा दिने भएको हो । सिलिकन नेपाल प्रा.लिले विहीबार पत्रकार सम्मेलन गर्दै सेवाको बारेमा जानकारी गराएको हो ।
नेपालमा विभिन्न ठुला शहरहरुमा यस्तो सेवा भएता पनि प्रदेश राजधानीमा भने पहिलो पटक सुरुभएको प्रा.लिका अध्यक्ष छचेन्द्र आचार्यले बताउनुभयो । आचार्यले २० हजार देखी २ लाख सम्मको सामसुङ, एमआई, वान प्लस र एप्पलको ब्रान्डको मोबाइल फोन खरिदमा किस्ताबन्दी सेवा लिन सकिने बताउनुभयो ।
मोवाइल प्रयोगकर्ताको माग अनुसार र उनीहरुलाई सहज होस भन्ने उद्देश्यले हिमालयन बैङ्कसँगको सहकार्यमा किस्ताबन्दी सहितको व्यवस्थामा सेवाग्राहीले २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने र ८० प्रतिशत बैङ्कले लगानी गर्ने आचार्यले बताउनुभयो ।
सेवाग्राहीले किस्ताबन्दीमा मोवाइल खरिद गर्न बैङ्कमा खाता खोली क्रेडिट कार्ड प्रयोग गरी १२ प्रतिशत ब्याज तिर्नुपर्ने आचार्यले बताउनुभयो । किस्ताबन्दीको अवधि १ बर्षको रहने कम्पनीले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुर महासचिव राजकुमार दाहाल लगायतको उपस्थिती रहेको थियो ।








