
खबरबाकस \ पछिल्लो समय कोरोना संक्रमणको संख्या बढ्दै गएपछि सरोकारवालाहरुले चासो राखेका छन् । हेटौंडामा शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा सरोकारवालाहरुले कोरोना नियन्त्रणको लागि तत्कालै विभिन्न भूमिकाहरु खेल्नु पर्नेमा जोड दिएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको छलफलमा मकवानपुर उद्योग वाणिज्य संघले विहान १० बजे सम्म सबै वस्तुगत व्यावसाय सञ्चालन गर्नुपर्ने र १० बजे पछि व्यवसाय बन्द गरिनुपर्ने प्रस्ताव राखेका थिए ।
प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले कोभिड नियन्त्रणमा आ-आफ्नो क्षेत्रमा संक्रमण रोकथाम/ नियन्त्रणको भावी योजना सहित बैठकमा आफ्नो धारण राख्न अनुरोध गरे पछि मउवा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले बजार पुरै ठप्प गरेर व्यवसायीलाई मारमा पार्न भन्दा विहान १० बजे सम्म व्यवसाय सञ्चालन गर्न पाए केहि राहत हुने र सक्रमण कम गराउन सकिने बताएका थिए ।
बैठकमा उद्योग संघ हेटौंडा, नारायणी यातायात व्यवसायी संघ, सुरक्षा निकाय, गैसस, राजनितिक दलका प्रतिनिधिहरु, स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । छलफलमा उठेका विषयमा भने निर्णय गर्न शनिबार बस्ने बैठकले निर्णय गरिने प्रशासनले जनाएको छ । बैठकले मकवानपुरका सञ्चारकर्मीलाई यस अघि कोरोनो नियन्त्रणमा खेलिरहेको भूमिकालाई धन्यवाद दिदैं आगामी दिनहरुमा अझ सामाजिक उत्तरदायित्वमा रहि सर्वसाधारणलाई सुसुचित गराई सहयोग गरिदिनु हुन नेपाल पत्रकार महासंघ मार्फत आग्रह गरेको छ ।








