समाचारफिचर

मकवानपुरका २० प्रतिशत भूकम्प प्रभावितको अझैसम्म पनि घर निर्माण भएन

संवाददाता

मकवानपुरका २० प्रतिशत भूकम्प प्रभावितको अझैसम्म पनि घर निर्माण नभएको पाइएको छ । विनासकारी भूकम्प गएको ६ वर्ष बितिसक्दा पनि जिल्लाका २ हजार ६ सय ७२ लाभग्राहीसँग अहिलेसम्म सम्झौता हुन नसकेको हो । सम्झौता हुन नसकेकाहरुलाई लाभग्राहीको सूचीबाट लगत कट्टा गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पठाइसकिएको प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरका प्रमुख विमल किशोरले जानकारी दिनुभयो ।

मकवानपुरमा कुल लाभग्राही संख्या ३८ हजार ४ सय ५९ रहेकामा ३५ हजार ७ सय ८७ परिवारले निजी घर बनाउन अनुदान सम्झौता गरेका थिए । त्यसमध्ये अहिलेसम्म २६ हजार ८ सय ७७ परिवार अर्थात् ८०.५ प्रतिशत लाभग्राहीले घर बनाएका छन्  । अनुदान सम्झौता गर्नेमध्ये ३५ हजार ७ सय ७६ अर्थात् ९८ प्रतिशत लाभग्राहीले पहिलो किस्ता लगेको पाइएको छ । दोस्रो किस्ता लिनेमा ३० हजार ९ सय ६६ र तेस्रो किस्ता लिनेमा २८ हजार ९ सय ७२ लाभग्राही छन् ।

निजी आवास निर्माण गर्न लगेको रकमले घर नबनाए उक्त रकम फिर्ता गर्नुपर्ने र फिर्ता नगरेमा कानुनी दायरामा ल्याएर असुल गरिने प्राधिकरणको भनाइ छ । मकवानपुरमा अहिलेसम्म २४ लाभग्राहीले रकम फिर्ता गरेका छन् । यसैगरी, घर प्रबलीकरण गर्ने लाभग्राही ९ हजार ५ सय ४१ जना छन् । तीमध्ये ७ हजार ४ सय ४ जनासँग मात्र अनुदान सम्झौता भएको छ । त्यसमध्ये पनि ७ हजार ३ सय ९७ जनाले पहिलो किस्ताबापतको रकम लगिसकेका छन् । तर दोस्रो किस्ताको रकम लैजानेको संख्या १ सय ९५ मात्रै रहेको इकाइले जनाएको छ ।