
चितवन \ सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले उनका ठूलो बुबाका छोरा नातामा दाइ पर्ने सुकदेव भण्डारीलाई आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरेको छ । सुजिताकी आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा साउन ६ गते उजुरी दिएकी थिइन् । सुकदेवलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
घटनाको बारेमा जानकारी दिन चितवन प्रहरीले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा घटनाका मुख्य अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाले सुकदेव र सुजिताको सम्बन्ध पारिवारिक र दाजु बहिनीको मात्र नभइ शंकास्पद देखिन्छ भनेर परिवारका सदस्यले भनेपछि त्यसैको आधारमा अनुसन्धान अगाडि बढाउँदै लगेको बताए ।
‘सुजिता भण्डारी दिदीकोमा जान्छु भनेर काठमाडौं गएको र सुकदेवलाई भेटेर विवाह गर्न दबाब दिएको देखिन्छ,’ विवाह गर्न सामाजिक र नैतिक कठिनाइ हुने भएपछि सम्भव भएसम्म विदेश जाने र सम्भव नभए एक आपसमा अपहरणमा परेको बाहना बनाइ कसैले थाहा नपाउने ठाउँमा बस्ने योजनासमेत खुल्न आएको डिएसपी रानाले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
‘असार ९ गते सुजिता र सुकदेवबीच टेलिफोन सम्पर्क भएको देखिन्छ । त्यो क्रममा सुजिताले बिहे गर्न भनेको, सुकदेवले नमानेको र विवाद हुँदा सुजिताले मर्छु भनेको तथा सुकदेवले जे गर्ने हो गर भनेको खुल्न आएको छ,’ डिएसपी रानाले भने । काठमाडौंमा केही समय दिदीको घरमा बसेकी सुजिता कोठा खोजेर सुकदेवसँग पनि केही समय सँगै बसेको रानाले बताए ।








