
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा सञ्चालित कोभिड हेल्प डेस्क मकवापुरलाई मकवानपुर कुखुरा व्यवसायी संघबाट सहयोग प्राप्त भएको छ । संघबाट ३५ क्रेट अण्डा र ४० किलो मासु सहयोग भएको हो ।
बुधबार मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष गोकुलनाथ पौडेल, उपाध्यक्ष जयराम अर्याल र महासचिव श्यामसुन्दर परियारले उक्त सहयोग गर्नुभएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्य सरोज खनाल, मउवासंघका उपाध्यक्ष राम प्रसाद न्यौपाने, कार्यसमिति सदस्य श्रीकृष्ण कर्माचार्यलगायतको उपस्थिति रहेको थियो ।
२५ थान सिलिण्डर अक्सिजन खरिद गर्न मकवानपुर बचत तथा ऋण सहकारी संस्थाले हेल्प डेस्कलाई १७,५०० सहयोग गरेको हो । सहकारीका कोषाध्यक्ष भुवनलाल श्रेष्ठले उक्त सहयोग रकम हेल्प डेस्कका संयोजक कृष्ण कटुवाललाई हस्तान्तरण गरेका थिए । डेक्सलाई ग्लुको मिटर एकथान र तौल मेसिन एकथान सहयोग प्राप्त भएको छ ।
नेपाल परिवार नियोजन संघबाट उक्त ग्लुको मिटर र तौल मेसिन सहयोग गरेको हो । परिवार नियोजन संघका अध्यक्ष निगम श्रेष्ठले पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठलाई सहयोग हस्तान्तरण गरेका थिए ।








