समाचार

मकवानपुरगढीलाई स्वास्थ्य सामाग्री सहयोग

संवाददाता

मकवानपुर–कोरिया मञ्च दक्षिण कोरियाले मकवानपुरगढी गाउँपालिकालाई आइतबार एक कार्यक्रमका बीच स्वास्थ्य सामाग्री सहयोग गरेको छ । मञ्चले गाउँपालिकालाई २५ थान रियुजेवल पिपिई सेट, २५० वटा सर्जिकल ग्लोब्स,१२५० सर्जिकल माक्स,३० थान फेस शिल्ड,२५ लिटर ह्यान्ड सेनिटाईजर गरी करिब ८० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको मञ्चका पूर्व अध्यक्ष रमेश उप्रेतीले बताए ।

मकवानपुरबाट कोरियामा गई विभिन्न पेशा व्यवसायमा संलग्न मनकारी व्यक्तित्वहरुले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग होस भन्ने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गरिएको उनले बताए । स्वास्थ्य सामाग्री मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बा र प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी र स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछाने, सिनियर अहेव लक्ष्मण दहाल र अ.हे.व.कौशल्या धमलाको उपस्थितीमा हस्तान्तण गरिएको थियो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष हर्कमाया रुम्बा साथै प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी र स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछाने मञ्चले कोरियादेखि नेपालसम्म गरेको सहयोग अनुकरणीय र अमुल्य रहेको बताएका थिए ।
मञ्चका बागमती प्रदेश कोरियाका संयोजक किशोर ब्लोनको सभाध्यक्षतामा भएको कार्यक्रममा मञ्चका पूर्व अध्यक्षहरु दुर्गा प्रसाद दाहाल, राजकुमार गोले लगायत मञ्चका पूर्व पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो । मञ्चले आइतबार नै हेटौंडा अस्पताललाई पनि स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।