
बुटवल \ राष्ट्रिय सभाअन्तर्गत लुम्बिनी प्रदेशतर्फ रिक्त सदस्य पदका लागि सोमबार (भोलि) हुने उपनिर्वाचनको तयारी पूरा भएको छ ।दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुंवरले बताए । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो ।
निर्वाचनमा प्रदेश सभातर्फका ७९ जना सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष गरी २१७ मतदाता छन् । मतदानका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा तीनवटा मतदान केन्द्र बनाइएको छ । बिहान ९ बजेबाट ३ बजेसम्म मतदान हुने छ । मतदान सकिए लगत्तै मत गणना सुरु हुने छ ।
प्रत्येक मतदान केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित ८ जनाका दरले कर्मचारी खटाउने गरी तयारी पूरा भएको कुंवरले बताए । मतगणना सुरु भएको एक घण्टामै परिणाम आउने कुंवरले बताए ।
निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ । प्रदेशका ७९ प्रदेशसभा सदस्यको तीन हजार ७९२ र स्थानीय तहका २१७ जनप्रतिनिधिको ३ हजार ९ सय ६ गरी जम्मा ७ हजार ६९८ मत छ ।
प्रदेशका १०९ स्थानीय तहमध्ये पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा परेर मृत्यु भएपछि रिक्त छ । राष्ट्रिय सभामा दुई जना मात्र उम्मेदवार भएकाले ३ हजार ८ सय ५० मत ल्याउने उम्मेदवार निर्वाचित हुनेछन् ।








