समाचार

पल्पसा हलमा आइसोलेसन स्थापना गर्ने तयारी

संवाददाता

मकवानपुर उद्योग वाणिज्य संघको मातहतमा रहेको पल्पसा हलमा आइसोलेसन सेन्टर संचालन गर्नेगरी आवश्यक तयारी अघि बढाइएको छ । पल्पसा परिसरमा आइसोलेसन निर्माण गर्ने तयारी भइरहेको र आइतबारसम्ममा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट आइसोेलेसन संचालन गर्ने अनुमति प्राप्त हुने वातावरण बनेको हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले बताएका छन् ।

मकवानपुर जिल्लाका निजी अस्पताल संचालक संघबाट संक्रमितहरुको लागि बेडको व्यवस्था र अन्य सहयोग समेत हुने भएको छ । शुक्रबार भएको छलफलमा निजी अस्पताल संचालक संघका अध्यक्ष विष्णु गोपाल महर्जन, नारायण श्रेष्ठ, डाक्टर बसिम राई, सञ्चो हस्पिटलका अध्यक्ष तथा हेटौंडा–५ का वडा अध्यक्ष राजेश बानियाँ, हेटौंडा मोडल अस्पतालका प्रतिनिधि, मउवासंघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, अध्यक्ष सल्लाहकार नरोत्तम दहाललगायतको सहभागिता रहेको थियो ।

सोही आइसोलेसनमा मकवानपुर बचत तथा ऋण सहकारी संस्थाबाट आइसोलेसनको लागि जेनेरेटर उपलब्ध गराइने भएको छ । शुक्रबार हेल्प डेस्क टोलीले पल्पसामा आइसोलेसन संचालन गर्दा आवश्यक पर्ने पूर्वाधारहरुबारे छलफल समेत गरेको छ । हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्यहरु सरोज खनाल, बद्रीप्रसाद चौलागाई, रामकुमार एलन, मउवासंघका कानूनी सल्लाहकार ईश्वरराज ढकाल, सिनियर अहेव प्रविन पुडासैनी, अनमी दिव्या बस्नेतलगायतको टोलीले स्थलगत अवलोकन गरेको हो ।