समाचार

सिद्धस्थली अस्पतालले दियो अक्सिजन कन्सन्ट्रेटर

संवाददाता

हेटौंडा  \  हेटौंडा-६ मा निर्माणाधीन सिद्धस्थली सामुदायिक अस्पतालले हेटौंडा-६ मा रहेको स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर,मास्क,ग्रोल्बस (सर्जिकल पञ्जा),लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको छ।अस्पतालले स्वास्थ्य चौकीलाई एक थान कन्सन्ट्रेटर,३ थान मास्क,१ थान सर्जिकल पञ्जा  सहयोग गरेको हो।

उक्त स्वास्थ्य सामाग्री अस्पतालमा डाक्टर अभन गौतमले हेटौंडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई र हेटौंडा उपमहानगरपालिका जनस्वास्थय निरीक्षक भोला प्रसाद चौलागाईलाई हस्तान्तरण गरेका छन।

हस्तान्तरण कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका संचलक समिति सदस्य उत्सव चौलागाई,स्वास्थ्य चौकी प्रमुख टिएन ढुङ्गेल,सञ्चारकर्मी भीमसेन पौडेल, अस्पताल संचालक गोमा गौतम लगायतको उपस्थिती रहेको थियो।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै वडाअध्यक्ष तथा जनस्वास्थ्य निरीक्षक चौलागाईले संकटको अवस्थामा सिद्धस्थली सामुदायिक अस्पतालले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री दिएकोमा खुशी व्यक्त गरेका छन। यता सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अस्पतालका डाक्टर गौतमले संकटको अवस्थामा सबैले सहयोग गरी महामारी नियन्त्रणमा लाग्नु पर्ने भएकोले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको बताए।