
हेटौंडा \ नेपाल पत्रकार महासंघले समाचार लेखेको विषयमा पत्रकार र सम्पादकहरुलाई सर्वोच्च अदालतले बोलाएकोप्रति आपत्ति जनाएको छ ।
सर्वोच्च अदालत प्रशासनले इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय डट कमका प्रधान सम्पादक नारायण अमृतलाई प्रधानमन्त्री र प्रधानन्याधिशबिच भेटघाटको समाचारबारे छलफल गर्न बोलाएकोप्रति आपति जनाएको हो ।
दुबै अनलाईनले सोमबार राती प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराबीच भेट भएको भन्दै समाचार प्रकाशित गरेपछि विवाद बढेको हो । सोही विषयका बारेमा सर्वाेच्चले विज्ञप्ति जारी गर्दै खण्डन समेत गरेको छ ।
‘प्रकाशित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे, त्यस उपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्दती छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसको बेवास्ता गर्दै सर्वोच्चले पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य रहेको हो’ ।
साथै महासंघले संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न सम्वन्धित निकायसँग महासंघले आग्रह पनि गरेको छ ।








