समाचार

अक्सिजन खरिद गर्न भेट्रान्सको ४० हजार सहयोग

संवाददाता

हेटौंडा \ हेटौंडा भेट्रान्स क्लबले मानवीय सेवामा अघि बढ्दै लायन्स लियो कोभिड इमर्जेन्सी फण्ड लाई अक्सिजन खरिदका लागि रकम सहयोग गरेको छ । भेट्रान्सका सदस्य कबिन सङ्गामीको संयोजनमा कोभिड फण्डलाई ४० हजार नगद सहयोग गरेको हो । शनिवार एक औपचारिक कार्यक्रम गर्दै भेट्रान्सका उपाध्यक्ष नवराज बज्राचार्यले सहयोग रकमको चेक लायन्स ३२५ बि २ का डिस्ट्रिक गभर्नर शम्भु नकर्मीलाई हस्तान्तरण गरेका छन् ।

रकम हस्तान्तरण गर्दै क्लबका उपाध्यक्ष बज्राचार्यले भेट्रान्स क्लबले आगामी दिनहरुमा पनि मानवीय सेवा र समाजसेवाको क्षेत्रमा सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरे । सहयोग रकम लिँदै लायन्स डिस्ट्रिक्ट गभर्नर नकर्मीले भेट्रान्स क्लबलाई धन्यवाद दिए । यसैगरी कोभिड अस्पतालमा अक्सिजन र स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामाग्री वितरण गर्दै आएको उनले बताए । यसैगरी कोभिड इमर्जेन्सी फण्ड मुल समिति संयोजक, लायन्स ३२५ बि २ डिस्ट्रिक्ट क्यबिनेट सेक्रेटरी टासी डोल्मा टुम्बाहाम्फेले कोभिड नियन्त्रणमा राज्यबाट भएका काममा सहयोग गर्दै आएको बताए ।

लायन्सले २० वटा सिलिन्डर संकलन गरी आफ्नै खर्चमा बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउँदै आएको बताएका छन् । उनका अनुसार हालसम्म १ सय जना अस्पतालका बिरामी र अक्सिजन लगाउनुपर्ने दीर्घरोगका बिरामीलाई सेवा दिइसकेको छ । यस्तै कोरोनाको तेस्रो लहरका लागि पनि पुर्व तयारीमा रहनुपर्ने अवस्था भएकोले सबैजना सहयोगी मनहरुको साथ सहयोग आवश्यक भएको नकर्मीले बताए । कार्यक्रममा लायन्स कोभिड फण्डका आर्थिक उपसमिति सहसंयोजक जेपी यादव, भेट्रान्सका बोर्ड सदस्य बासुलाल श्रेष्ठ, राजकुमार श्रेष्ठ र सुरेन्द्र नकर्मीलगायतको उपस्थिति थियो ।