समाचारखेलकुद

भोलीबाट स्थानीय तह शहीद स्मृृति गोल्डकप, सम्पूर्ण तयारी पूरा

संवाददाता

हेटौंडामा भोलि बिहीबारबाट सुरु हुने स्थानीय तह शहीद स्मृृति गोल्डकप फुटबलको तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगिता ४ हजार जनाले खेल हेर्न सक्ने गरी मैदानमा फलामको प्याराफिटको निर्माण गरेकोे छ । भोली २७ गतेबाट चैत्र ७ गतेसम्म हुने प्रतियोगितामा दर्शकलाई टिकटको व्यवस्था गरेको छ ।

उद्घाटन खेल हुने दिनबाटै दर्शकले खेल हेर्न टिकट काट्नु पर्नेछ । टिकटदर नकआउट चरणमा प्रतिव्यक्ति सय रुपैयाँ, सेमिफाइनलमा प्रतिटिकट २ सय रुपैयाँ र फाइनल खेल हेर्न ३ सय रुपैयाँ टिकटको मूल्य तोकिएको आयोजकले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागत उत्कृष्ट खेलाडीले २५ हजार, म्यान अफ दि म्याचले दश हजारका दरले पुरस्कार पाउनेछन् ।

प्रतियोगिताका लागि मकवानपुरका दशवटा स्थानीय तह र जिल्ला समन्वय समितिले प्रायोजन गरेका छन् । प्रतियोगितामा हेटौंडा रिगल रिसोर्ट मकवानपुर, नेपाल आर्मी, एपीएफ क्लब, नेपाल पुलिस क्लब, जवलाखेल युथ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, बागमती युवा क्लब, सर्लाही, नवजनजागृति युवा क्लब सिमरा र अफ्रिकन रुट्स एसोसिएनले गोल्डकपमा सहभागिता जनाएकाछन् ।