समाचार

कोमल वलीद्वारा रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर

संवाददाता

काठमाण्डाै \  राष्ट्रियसभा सांसद कोमल वलीले नेकपा नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्नु भएको छ । सांसद वलीले आज काठमाण्डाै जिल्ला अदालत पुगेर नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्नुभएको हो ।

नेता पन्तले राष्ट्रियसभाकी सांसद वलीमाथि केही समयअघि एक कार्यक्रममा असभ्य टिप्पणी गर्नुभएकाे थियाे । यस टिप्पणीको सबैतिर तीव्र आलोचना भएको थियो । नेता पन्तले गरेको टिप्पणीले आफू तथा समस्त आमा, दिदीबहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेकाले मुद्दा दायर गर्नुपरेको राष्ट्रियसभा सदस्य वलीले बताउनुभयो ।

वलीले भन्नुभयो – 'उहाँले माफी माग्नुभएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नुभएको छ । उहाँले प्रयाेग गर्नुभएका शब्दहरु माफ गर्न क्षम्य हुने खालको छैन । यसले म लगायत आमा, दिदी बहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेको हुनाले मुद्दा दर्ता गरेकाे छु ।'

सांसद वलीले आफू माथिल्लो सदनको विधायिका भएको हुनाले आफूले आत्मसम्मानको खोजी गर्न नसके, न्यायको खोजी गर्न र न्यायको लागि बोल्न नसके अरुको अवस्था पनि त्यस्तै हुने भन्दै अदालत आउनु बाध्यता भएको बताउनुभयो ।