खेलकुद

मेयर कपको उपाधि वडा १० लाई

संवाददाता

सिधाखबर \ हेटौंडा मेयर कपको उपाधि हेटौंडा–१० ले जितेको छ । आज सोमबार भएको फाइनल खेलमा हेटौंडा–१८ लाई ५–० गोलअन्तरले हराउँदै वडा नम्बर १० विजयी भएको हो । खेलमा वडा नम्बर १० का बिके लामाले ह्याट्रिक गरेका थिए । यस्तै प्रितम स्याङ्बोले १ गोल गरेका थिए भने १ गोल वडा नम्बर १८ ले आफ्नै पोष्टमा आत्मघाती गोल गरेका थिए ।

वडा नम्बर १० ले नगद २ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बनेको १८ नम्बर वडाले नगद १ लाखमा चित्त बुझाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर १० का सुमन छुमि घोषित भई उनले नगद १० हजार प्राप्त गरे । फागनु १५ गतेबाट सुरु भएको हेटौंडा मेयर कपको समापन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतियोगितामा हेटौंडाका १९ वटा वडाले सहभागिता जनाएको थिए ।