
मकवानपुरगढी गाउँपालिकाले जेठ मसान्त सम्ममा ३ वटा वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि शुक्रबारबाट वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सुरुवात गरेको छ । गाउँपालिकाले वडा नम्बर ५, ६ र ३ नम्बर वडालाई पहिलो चरणमा घोषणा गरिने गरी कार्य अघि बढाएको छ ।
वडागत कार्यक्रमको पहिलो दिन वडा नम्बर ५ धादिङमा बालमैत्री स्थानीय शासन नीतिगत अवलम्बन तथा घोषणा सम्बन्धी वडा स्तरीय अभिमुखीकरण गरिएको छ । वडा अध्यक्ष तथा गाउँपालिकाका सामाजिक विकास संयोजक जीतबहादुर घिमिरेको अध्यक्षतामा राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौवेले सहभागिलाई बालमैत्री स्थानीय शासनका विषयमा सहजिकरण गरेका थिए । अभिमुखीकरण पश्चात जेठ मसान्त सम्ममा घोषणा गरिने गरी काम गर्ने प्रतिवद्धता समेत गरिएको बालमैत्री संयोजक राम प्रसाद दहालले बताए ।
गाउँपालिकाले वडामा रहेका विभिन्न टोल विकासको घरधुरी संख्या र विभिन्न सुचक प्रयोग गरी गणना सुरु गणक परिचालन गरि सकेको बताए । ३९ वटा सुचकमा रही बालमैत्री घोषणा गरिने जनाइएको छ । कार्यक्रममा वडा नम्बर ५ का जनप्रतिनिधि, महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा, अधिवक्ता रामशरण लामिछाने, टोल विकासका अध्यक्ष, स्वास्थ्य चौकीका प्रमुख सन्देश घिमिरे, विद्यालयका अध्यक्ष र प्रअ, बालक्लबका प्रतिनिधि, स्वास्थ्य स्वंम सेविका, बालमैत्री सहजकर्ता एलिना देवकोटा लगायत स्थानियहरुको सहभागिता रहेको थियो । शनिबार भने वडा नम्बर ६ डुम्रेकुनामा वडा स्तरीय बालमैत्री स्थानीय शासन नीतिगत अवलम्बन तथा घोषणा सम्बन्धी अभिमुखीकरण गरिएको थियो भने आइतबार वडा नम्बर ३ मा गरिएको छ ।








