समाचार

भानु माविमा बस सञ्चालन सुरु

संवाददाता

मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको भानु माध्यामिक विद्यालयले मंगलबार देखि बस संचालन शुरु गरेको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ र ५ का वडा अध्यक्षहरु भागवत घिमिरे र जित बहादुर घिमिरेले संयुक्त रुपमा बस संचालनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वडा ३ नं का वडाध्यक्ष तथा प्रवक्ता भागवत घिमिरेले गाउँपालिकाले भानु माविलाई नमुना विद्यालयका रूपमा संचालन गर्न चाहे अनुसार बागमती प्रदेश सरकारले पनि विद्यालयलाई प्रदेशको नमुना विद्यालयका रुपमा विकास गर्न आवश्यक भौतिक संरचना निर्माण लगायतमा सहयोग गरिरहेको अवस्थामा बस संचालन पश्चात् साना विद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न धेरै नै सजिलो र सहज हुने बताएका थिए ।

विद्यालयले बोलपत्र मार्फत २५ लाखमा खरिद गरेको र त्यसका लागि गाउँपालिकाले दश लाख र बाँकी १५ लाख रकम विद्यालयको आन्तरिक श्रोतबाट खर्च गरि बस खरिद गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान कुमारी पाख्रीनले बताइन् ।
विद्यालयले यसै शैक्षिकसत्र देखिनै भाडामा बस लिई बन्दडाँडा, मोरङ्गे र देविडाँडा क्षेत्रबाट कक्षा ७ सम्मका विद्यार्थीहरुका लागी बस सेवा संचालन गरेको थियो । फलस्वरूप त्यस क्षेत्रबाट विद्यालयमा करिब एकसय जना विद्यार्थी थपिएको विद्यालयका अध्यक्ष पाख्रीनले बताइन् ।

विद्यालयमा हाल १५० जना विद्यार्थीले बस संचालनबाट सेवा लिइरहेका छन् । विद्यालयमा कक्षा ७ सम्म अध्ययन गर्ने विद्यार्थीको संख्या ३५० रहेको र विद्यालयमा कुल विद्यार्थी संख्या ५१५ रहेको जनाइएको छ ।