
हेटौंडा \ खरको छानो भएका हेटौंडा उपमहानगरपालिकाभित्रका दुई विपन्न एकल महिलाको परिवारलाई दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र दिव्यताराद्वारा सञ्चालित रेडियो मकवानपुरले जनही २५ हजार रुपैयाँ सहयोग गरेको छ । हेटौंडा उपमहानगरपालिका–१ स्थित नकौलीका बिप्फीमाया पाख्रीन तामाङ र हेटौंडा–१५ घट्टेदमारका लक्ष्मीमाया वाइबालाई सोमबार एक कार्यक्रमकाबीच नगद २५ हजार रुपैयाँ सहयोग गरिएको हो ।
पाख्रीन र वाइबा दुवै विपन्न एकल महिला हुन् । दुवैको घरमा खरको छाना रहेकोले जस्तापाता लगाउन सहकारी र रेडियोले नगद सहयोग गरेको हो । दिव्यताराको २३ औं स्थापना दिवस तथा रेडियो मकवानपुरको ११ औं बार्षिक साधारणसभाको अवसरमा विभिन्न सप्ताहव्यापी कार्यक्रमको आयोजना भैरहेको छ । सप्ताहव्यापी कार्यक्रमको चौथो कार्यक्रम अन्तर्गत विपन्न एकल महिलाको परिवारलाई जस्तापाता सहयोगका लागि नगद हस्तान्तरण कार्यक्रम आयोजना भएको हो । रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षता एवम् दिव्यतारा सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सहकारी अध्यक्ष डीनाले आगामी बर्षहरुमा पनि जस्तापाता सहयोगको कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् । हेटौंडा उपमहानगरपालिकाको विकट वस्तीका सर्वसाधारणले उपमहानगरपालिकाको बासिन्दा हुनुको राहत महसुस गर्न नपाएको भन्दै उनले दुःख व्यक्त गरिन् । कार्यक्रममा हेटौंडा–१ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, १५ नम्बर वडा अध्यक्ष महारत्न लामा, समाजसेवी हरिकृष्ण महर्जनलगायतले मन्तव्य व्यक्त गरेका थिए । रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले सार्वजनिक शौचालय बनाउन पहल गर्ने र स्वास्थ्य शिविरको आयोजना समेत गरिने प्रतिबद्धता जनाए ।








