समाचार

मामाघर नेपाललाई खाद्यान्न सहयोग

संवाददाता

हेटौंडा \ दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं स्थापना दिवस तथा दिव्यताराद्वारा सञ्चालित रेडियो मकवानपुरको ११ औं बार्षिकोत्सवको अवसरमा मामाघर नेपाल संस्थालाई खाद्यान्न सहयोग गरिएको छ ।

सहकारीको स्थापना दिवस तथा रेडियोको बार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन मामाघर नेपाललाई खाद्यान्न सहयोग गरिएको हो । सडक बालबालिकाको उद्दार, संरक्षण, पालनपोषण एवम् हेरचाह गर्दै आएको संस्थालाई ६ बोरा चामलसहित चाउचाउ, तेल, चिनीलगायतका सामग्री सहयोग गरिएको हो । रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुली, दिव्यतारा सहकारीका कोषाध्यक्ष ईश्वर पण्डित, रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीलगायले मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।

मामाघरले हामलसम्म १८३ जना सडक बालकलाई उद्दार गरी संरक्षण गरेको र १३१ जनालाई परिवारमै पुनर्मिलन गराउन सफल भएको अर्पण पराजुलीले जानकारी दिए । हाल संस्थामा २५ जना रहेका छन् । जसमध्ये ४ जना बालकहरुले हक्कीको राष्ट्रिय टिमबाट खेलिसकेका छन् । ‘केहीले पढाईलाई निरन्तरता दिइरहेका छन् भने केहीले इलेक्ट्रोनिक र प्लम्विङको काम गरिरहेका छन्’, पराजुलीले भने, ‘अध्ययन संगै सीप विकासको काम पनि गरिरहेका छन् ।’ एक व्यक्ति एक इट्टा अभियान अन्तर्गत ४० लाख रुपैयाँ जम्मा गरेर भवन निर्माणको काम सुरु गरेको स्मरण गर्दै उनले अहिले संस्थाको आफ्नै भवनबाट सेवा दिन पाउँदा खुसी लागेको बताए ।

रेडियो मकवानपुर अध्यक्ष आनन्दराम पराजुलीले सामाजिक काम गर्ने संस्थालाई सबैको सहयोग जरुरी रहेको बताए । ‘यस्ता संस्थालाई गरिएको सहयोग वास्तविक सहयोग हुनेछ’, उनले भने, ‘एउटा व्यक्तिले चाहेमा समाजमा धेरै राम्रो काम गर्न सक्ने रहेछ भन्ने उदाहरण अर्पण पराजुलीले प्रश्तुत गरेका छन् ।’ व्यक्तिगत र संस्थागत सहयोग सदैव जारी रहने उनले प्रतिबद्धता जनाए ।

मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको प्रमुख आतिथ्यतामा सहयोग हस्तान्तरण कार्यक्रम भएको हो । मामाघर नेपालले गरेको कामको प्रशंसा गर्दै उनले आफू पनि सहयोगका लागि सदैव तयार रहेको प्रतिबद्धता जनाए । कार्यक्रममा सहकारीका कोषाध्यक्ष ईश्वर पण्डित, युवा नेताहरु विकास नेपाल, आशिष भट्टलगायतको आतिथ्यता रहेको थियो ।