
हेटौंडा \ मकवानपुरगढी गाउँपालिकाभित्रका पत्रकारहरु एकतावद्ध भएका छन् । गाउँपालिकामा स्थायी बसोबास गर्दै आएका पत्रकारहरु एकताबद्ध भई मकवानपुरगढी पत्रकार समाज नाम संस्था स्थापना गरिएको छ ।
संस्थाको बिहीवार भएको भेलाले सरिता दाहालको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ । नेपाल पत्रकार महासंघ उपाध्यक्ष, सञ्चारिका समूह बागमती प्रदेश अध्यक्षसमेत रहेकी दाहाललाई समाजको अध्यक्षमा चयन गरिएको छ । समाजको उपाध्यक्षमा मनोज देवकोटा, सचिवमा श्रीराम अर्जुन, कोषाध्यक्ष नवीन तिमल्सिना, सहसचिवमा सुनसानी थिङ रुम्बा चयन भएका छन् ।
समाजको सदस्यमा राज सापकोटा, भुवन घलान, सञ्जिव सुनार चयन भएका छन् । संस्थाको प्रथम बैठकले १ सदस्य थप गरिने सचिव श्रीराम अर्जुनले बताए । सामाजिक संस्थाको रुपमा स्थापना भएको यस संस्थाको विधान तयार गरी यसै महिना भित्र सम्बन्धित निकायमा दर्ता गरिने तदर्थ समिति सचिव श्रीराम अर्जुनले जनाए । मकवानपुरगढी गाउँपालिकामा सक्रिय पत्रकार ३२ जना रहेका छन् ।








