समाचार

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा हेटौंडामा गोष्ठी

संवाददाता

हेटौंडामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा सरोकारवालासंग अन्तरक्रिया भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा प्रदेशस्तरीय सरोकारवालाहरुको भुमिकाबारे छलफल गरिएको छ ।

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख अतिथ्यता तथा ईन्सेकका बागमती प्रदेश संयोजक कृष्ण गौतमको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले प्रदेश सरकारले क्रमिक रुपमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा विकासको काम गर्दै आइरहेको बताए ।

विद्यालयमा स्वास्थ्यको लागि नर्स कार्यक्रम, सरकार विद्यालयमा बसको व्यवस्था, केहि स्थानियतहले खाजाको व्यवस्था गरिरहेको अवस्थामा प्रदेश सरकारले विभिन्न स्थानमा आवासको पनि निर्माण गरि हस्तान्तरण गरिसकेको बताए । निर्माणमा पछाडी र ध्वस्त पार्नमा नेपाल अगाडी रहेको बताउदैं सभामुख श्रेष्ठले संसदमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको ऐन छलफलमा रहेको बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाई, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव नारायण प्रसाद पोखरेल, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका डा. बब्लु ठाकुर, गैसस महासंघ प्रदेश उपाध्यक्ष आरती पाठक, शिक्षाका लागि राष्ट्रिय अभियानका प्रमुख प्रकाश खतिवडा, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बासु खतिवडा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ठ, जिल्ला अध्यक्ष हरि हुमागाई, मानवअधिकार एलाइन्सका तुलसी रिजाल लगायतले आफ्नो धारणा राखेका थिए ।