
मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ मा सामुदायिक स्वास्थ्य इकाईको भवन शिलान्यास गरिएको छ । सोमबार वडा अध्यक्ष टिकाप्रसाद दाहालले स्वास्थ्य इकाई भवनको शिलान्यास गर्नुभएको हो । २२ लाख रुपैयाँ लागतमा एक तल्लाको ४ कोठे भवन निर्माण गर्न लागिएको वडा अध्यक्ष टिका प्रसाद दाहालले बताए ।
गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएर पश्चात सबै वडाहरुमा स्वास्थ्य इकाई निर्माण गरि सेवा दिने लक्ष्य राखेको छ । सोही अनुरुप वडा नम्बर ६ डुम्रेकुनामा इकाई भवनको निर्माण कार्य थालनी गरिएको हो । भाडाको घरमा सञ्चालन भइरहेको स्वास्थ्य इकाईका लागि गाउँपालिकाले प्रदेश र केन्द्र सरकारको समेत सहयोगमा भवन निर्माण सुरु भएको अध्यक्ष दाहालले बताए ।
स्वास्थ्य इकाई निर्माण गर्ने जग्गा स्थानीय कृष्णप्रसाद सुवेदीले भवन निर्माणको लागि एक कठ्ठा जग्गा दान गर्नुभएको छ । शिलान्यास कार्यक्रममा वडा सदस्य र टोल विकास संस्थाका प्रतिनिधि र स्थानियहरुको उपस्थिति रहेको थियो ।








