
हेटौंडा ९ पशुपतिनगरमा रहेको नारायणी बहुउद्देशयीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सवमा संस्थाले विभिन्न कार्यक्रम गरि मनाइरहेको छ । ९ गते विहीबारबाट सुरु भएको कार्यक्रममा आज शनिबार रक्तदान तथा संस्थापक सञ्चालक समिति र जेष्ट शेयर सदस्यलाई सम्मान गरेको छ । सभा १५ गते समापन गरिने जनाइएको छ ।
रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । सोही अवसरमा १३ जना जेष्ट शेयर सदस्यलाई दोसल्ला, घरेलु उत्पादित मह र नगदले सम्मान गरिएको छ । त्यसैगरी संस्थापक सञ्चालक समिति र पूर्व व्यवस्थापकहरुलाई पनि सम्मान गरिएको थियो ।

सविधान सभाका सदस्य अनन्त पौडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर वडा ९ का अध्यक्ष लक्ष्मण भण्डारी, रिद्धीसिद्धी सिमेन्ट उद्योगका विक्री प्रमुख विक्रम खतिवडा, निवर्तमान अध्यक्ष निरंजन ढकाल, उद्योग परिसंघ बागमती प्रदेशका संयोजक ऋषिराम घिमिरे, रक्तदान कार्यक्रम संयोजक रामचन्द्र दाहाल लगायतले आफ्नो भनाइ राखेका थिए । संस्थाका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
संस्थाले ९ गते सरसफाइ तथा स्मारिका विमोचन, १० गते नगर स्तरीय मावि तह वक्तृत्वकला प्रतियोगिता गरेको थियो भने आइतबार १२ गते औद्योगिक क्षेत्रमा निर्मित व्यवसायिक भवन अगाडी धुपीको विरुवा रोप्ने, १३ गते शेयर सदस्य, संचालक र कर्मचारीबीच मैत्रीपूर्ण सेभेन ए साइड फुटबल खेलिने, १४ गते मानव सेवा आश्रममा खाद्यान्न वितरण र १५ गते समापन गरिने अध्यक्ष न्यौपानेले बताए ।








