समाचार

आलु खेतीमा वैकल्पिक प्रविधिको प्रयोग

संवाददाता

आलुको बीउ मङ्गिएसँगै मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका कृषकले आलु खेतीमा वैकल्पिक विधिको प्रयोग सुरु गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ धमिलेफाँटका कृषकहरुले आलुको बियाबाट बेर्ना तयार गरी आलु खेती थालेका हुन् । आलुको वास्तविक बीउ अर्थात ट्र पोट्याटो सीड (टीपीएस) प्रयोग गरेर स्थानीय कृषकहरु शेरबहादुर थोकर, बद्री तिमिल्सनासहित तीन जना कृषकले दुई बिगाहा क्षेत्रफलमा आलु खेती सुरु गर्नु भएको छ ।

सिन्धुपाल्चोक जिल्लामा आलु फुलेर गोलभेँडाको जस्तै दानाभित्र लाग्ने बियालाई आलुको बीउको रुपमा प्रयोग गरिने र बीउ खुर्सानीको बियाभन्दा मसिनो हुने मकवानपुरगढी गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । उहाँले टीपीएस बीउ प्रति केजी ४० हजार रुपियाँभन्दा बढी पर्ने भन्दै ५० ग्राम ल्याएर प्रयोग गरिएको बताउनुभयो ।

आलुको दाना बीउ महङ्गिएको र समयमा नपाएपछि वैकल्पिक रुपमा अहिले बीउ उत्पादन गर्ने प्रयोजनका लागि टीपीएस बीउ लगाइएको बताउनुभयो । टीपीएस बीउको ब्याड राखेको २५ दिनमा बेर्ना तयार भएपछि सार्नु पर्ने र ९० दिनमा अर्थात आगामी चैतमा आलु खन्न मिल्ने हुन्छ, चौधरीले भन्नुभयो ।

कृषक तिमिल्सना यसअघि पनि टीपीएस बीउको प्रयोग गर्नु भएकोमा दाना बीउको सजह उपलब्ध भएपछि टीपीएस बीउको प्रयोग गर्न छोड्नु भएकोमा लामो समयपछि बीउको अभावमा पुनः प्रयोग सुरु गर्नुभएको छ । टीपीएस बीउ भाइरसमुक्त हुने र उत्पादनशील क्षमताको क्षति बिना लामो समयसम्म भण्डार गर्न मिल्ने जनाइएको छ ।

डँढुवा रोगको जोखिम कम, ढुवानी खर्च कम, बीउ भण्डारणमा समस्या नहुने र उत्पादन बढी हुने भएकोले टीपीएस बीउको प्रयोग कृषकका लागि लाभदायी हुने कृषि शाखाका प्रमुख चौधरीले बताउनुभयो ।
टीपीएस बीउको प्रयोगले बीउ नपाएको र महङ्गो भएको समयमा वैकल्पिक रुपमा प्रयोग गर्न सकिने भन्दै उहाँले कृषकको मेहनत र जग्गाअनुसार टीपीएस बीउको प्रयोग गरी प्रति हेक्टर २०–२५ हेक्टरसम्म आलु उत्पादन गर्न सकिन्छ भन्नुभयो ।