
हेटौंडा ९ पशुपतिनगरमा रहेको नारायणी बहुउद्देशयीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सवमा संस्थाले विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।
बुधबार संस्थामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष रामहरि न्यौपानेले सप्ताहव्यापी कार्यक्रम गरि सभा तथा रजत महोत्सव मनाउने बताए । ९ गते विहीबारबाट सुरु हुने १५ गते समापन गरिने जनाइएको छ ।
९ गते सरसफाइ तथा स्मारिका विमोचन, १० गते नगर स्तरीय मावि तह वक्तृत्वकला प्रतियोगिता, ११ गते रक्तदान र वृद्धवृद्धा सम्मान, १२ गते औद्योगिक क्षेत्रमा निर्मित व्यवसायिक भवन अगाडी धुपीको विरुवा रोप्ने, १३ गते शेयर सदस्य, संचालक र कर्मचारीबीच मैत्रीपूर्ण सेभेन ए साइड फुटबल खेलिने, १४ गते मानव सेवा आश्रममा खाद्यान्न वितरण र १५ गते मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितीमा समापन गरिने अध्यक्ष न्यौपानेले बताए ।
४ करोड ७५ लाख ७८ हजार ६ सय शेयर पुजीँ रहेको संस्थाले असार मसान्त सम्म १ अर्ब १७ करोड ८८ लाख १६ हजार ९९१ बराबर कारोबार गरेको छ । पत्रकार सम्मेलनमा वडा नम्बर ९ का अध्यक्ष लक्ष्मण भण्डारी, सल्लाहकार विजेन्द्र अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।








