समाचार

बचत संघको साधारण सभा समापन

संवाददाता

जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको १५ औं वार्षिक साधारण सभा सोमबार समापन भएको छ । गत २१ गतेबाट सुरु भएको सभा आज समापन गरिएको हो । कोरोना महामारीको कारणले एक साता सभा सञ्चालन गरिएको थियो ।

संघका अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षतामा भएको सभामा बागमती प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव मतिना जोशी वैद्यको प्रमुख अतिथ्यता रहेको थियो ।

No description available.

गत वर्षझैं संघले यस वर्ष पनि विभिन्न विधामा सहकारी संस्था, कर्मचारी तथा सहकारी अभियान्तालाई पुरस्कृत तथा सम्मान गरेको छ । पुरस्कृत तथा सम्मानित हुनेमा उत्कृष्ट महिला साकोसमा सक्रिय महिला साकोस, मिश्रित सहकारीमा जनकल्याण साकोस, उत्कृष्ट दैनिक कारोबार गर्ने सहकारीमा हाम्रो गोर्खा साकोस रहेका छन्, । त्यस्तै, समग्र तर्फ सर्वाधिक बचत जम्मा गर्नेमा संजीवनी साकोस, ऋण परिचालन गर्नेमा बज्रबारहि साकोस र बढी शेयर खरिद गर्नेमा महिला सेवा साकोस रहेका छन् ।

महिला साकोस तर्फ सर्वाधिक बचत जम्मा गर्नेमा महिला जनचेतना साकोस, ऋण परिचालन गर्नेमा महिला अभियान साकोस र बढी शेयर खरिद गर्नेमा महिला मिलन साकोस रहेका छन् । संघले गाउँपालिका तर्फ भने सर्वाधिक बचत गर्नेमा महिला जागृति साकोस, ऋण परिचालन गर्नेमा दिव्यज्योती महिला साकोस र शेयर खरिद गर्नेमा महिला जागरण साकोसलाई पुरस्कृत गरेको छ ।

No description available.

त्यस्तै, संघले सहकारी अभियानकर्मीमा महिला तर्फ मञ्जु थिङ र पुरुष तर्फ इन्द्र बहादुर बस्नेत, उत्कृष्ट कर्मचारीमा महिला तर्फ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको महिला आवाज साकोसका व्यवस्थापक बाटु कुमारी योञ्जन र पुरुष तर्फ हेटौंडा ४ मा रहेको सुरक्षित साकोसका व्यवस्थापक दुर्गा प्रसाद घिमिरेलाई सम्मान गरिएको थियो ।

सभामा एकिकरण गर्ने साकोसहरुलाई सम्मान गरिएको थियो । जसमा श्रमिक र मखमली साकोस एकिकरण पश्चात श्रमिक साकोस, उपयोगी र सहस्राब्दी एकिकरण पश्चात उपयोगी सहस्राब्दी साकोस र सर्वोत्तम र संचिती एकिकरण पश्चात सर्वोत्तम संचिति साकोसलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष मेनका दाहाल, सल्लाहकार बद्री प्रसाद लम्साल, संघका संस्थापक अध्यक्ष सुलोचना स्याङतान, संघका उपाध्यक्ष मिना चौरेल लगायत पदाधिकारी तथा सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो ।