
मकवानपुर \ हेटौंडा जेसीजले मकवानपुरमा राष्ट्रिय स्तरको महिला साइक्लिङ् प्रतियोगिता आयोजना गर्ने भएको छ । आज बिहिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा जेसीजले १२ जना राष्ट्रिय महिला साइक्लिस्टहरुलाई सहभागी गराएर प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।
यही मंसिर २० गते शनिबार बिहान ९ बजे साइक्लिङ प्रतियोगिता हुन लागेको बताइएको छ । हेटौंडा जेसीज वर्ष २०२० का अध्यक्ष राजदेव बानियाँले महिला सशक्तिकरण सन्देश प्रवाह गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको बताए । मकवानपुरगढी गाउँपालिका वडा नं ४ स्थित सामरी पुलदेखि भीमफेदी गाउँपालिका वडा नम्वर १ हुँदै मकवानपुरगढी – ५ मा पर्ने गुम्बाडाँडासम्म साइक्लिङ गरिने उनले बताए ।
करिब ८ किलोमिटरको साइक्लिङ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीलाई मेडल, प्रमाणपत्रसहित क्रमशः नगद १८ हजार, १२ हजार र ६ हजार रुपैँया प्रदान गरिने उनले बताए । उक्त प्रतियोगितामा लक्ष्मी महर्जनसहित १२ जना राष्ट्रिय खेलाडीहरु र हेटौंडाकी कविता दास समेत सहभागी हुने उनले बताए ।
जो कोही इच्छुक महिलाले प्रतियोगितामा सहभागीता जनाउन सक्ने आयोजकले बताएको छ । प्रतियोगितालाई मकवानपुर साइक्लिङ् एशोसिएसनले प्राविधक सहयोग गर्नेछ । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न हुने जनाइएको छ ।








